७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन्। कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो। प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ।  इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ।  

राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।  

सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ।  

चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ।  

प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताए।  

चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका छन्।  

प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो।

फिजीले कोरोनाभाइरसबाट आफू मुक्त भएको घोषणा गरेको छ। यहाँका सबै १८ जना संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएका छन्।  

प्रधानमन्त्री फ्रान्क बाइनीमारामाले शुक्रबार आफ्नो मुलुकमा भेटिएका सबै कोरोना संक्रमित निको भइसकेको बताएका छन्।  

करिब ९ लाख जनसंख्या रहेको फिजीमा गत अप्रिलमा केही निश्चित क्षेत्रमा लकडाउन गर्नुका साथै सीमा क्षेत्रमा आवातजावतमा प्रतिबन्ध लगाइएको थियो।  

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न फिलिपिनी नागरिकले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन्।  

उनले क्वारेन्टिनमा देखिएका समस्याबारे सोधिएका प्रश्नको जवाफ दिँदै महामारीका बीच कुनै गरिब परिवारले आवश्यक सहयोग नपाएको पाइए सम्बन्धित अधिकारीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।  

टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले कोरोना संक्रमित भएर ज्यान गुमाएका ३२ जना स्वास्थ्यकर्मीका परिवारले राहत नपाएको गुनासोप्रति रोष प्रकट गरेका छन्।

अधिकारीहरुले फिलिपिन्समा बेरोजगारी करिब १७।७ प्रतिशत पुगेको बताएका छन्।  

फिलिपिन्समा २० हजार ३८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको र करिब एक हजारको मृत्यु भएको छ।  

संयुक्त राष्ट्र संघले कोरोनाभाइरस महामारीका कारण माली र अफ्रिकाको साहेल क्षेत्रमा गम्भीर मानवीय तथा सुरक्षा चुनौती खडा भएको जनाएको छ।  

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषदमा बुझाउनु भएको एक प्रतिवेदनमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग आबद्ध आतंकवादीका कारण शान्ति सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेका छन्।  

उनका अनुसार आतंककारीहरुले नागरिकमाथि आक्रमण गर्ने खतरा छ। मालीको सेना र अन्तर्राष्ट्रिय फौजलाई उत्तरी र मध्य मालीमा तैनाथ गरिएको भए पनि उत्तरी मालीमा मुख्य रुपमा खतरा उत्पन्न भएको उनको भनाई छ।  

राष्ट्रसंघका अनुसार अल–कायदा र इस्लामिक स्टेटका लडाकूबीच पनि ठाउँठाउँमा भिडन्त भएका छन्।  

मालीमा करिब ३५ लाख मानिस खाद्य असुरक्षाबाट पीडित भएका छन्।  

दक्षिण कोरियामा विगत २४ घण्टाको अवधिमा ३९ जना नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएका छन्।  

कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) का अनुसार पछिल्लो विवरण सहित देशभर कूल संक्रमितको संख्या ११ हजार ६६८ पुगेको छ भने २७३ जनाको मृत्यु भएको छ।  

पछिल्लो पटक भेटिएका व्यक्तिहरु सियोल महानगरको घनाबस्ती क्षेत्रका बासिन्दा हुन्।  

दक्षिण कोरियामा सामाजिक दूरी समेतका कडा नियममा सहजता तुल्याएसँगै नयाँ संक्रमित भेटिएका छन्। तर नयाँ संक्रमितको संख्या ठूलो मात्रामा वृद्धि भएको छैन।  

प्रकाशित: २३ जेष्ठ २०७७ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App