१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १७ लाख ९४ हजार १५३ रहेको छ भने एक लाख चार हजार ५५० सङ्क्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार ६११ पुगेको छ ।  

अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् ।

बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै सङ्क्रमितको सङ्ख्या भारतमा रहेको छ । पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।  भारतमा सङ्क्रमितको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४५७, बङ्गलादेशमा ४४ हजार ६०८ र अफगानिस्तानमा १४ हजार सङ्क्रमित रहेका छन् ।  

नेपालमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ पुगेको छ भने छ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

विश्वव्यापी महामारीबाट बढी प्रभावित  मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस सङ्क्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।  

ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

“शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या चार लाख ६५ हजार १६६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १२४ पुगेको छ,” मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।  

पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब सात हजार ३०० सङ्क्रमित व्यक्तिको  मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका शहर रहेका छन् ।

प्रकाशित: १७ जेष्ठ २०७७ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App