१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा परेर चीनतर्फ २१ जनाको मृत्यु, ५४१ जना अझै बेपत्ता

नेपाल-चीन सीमास्थित गेइरोङ बन्दरगाहमा गत साता बुधबार गएको पहिरोमा परी चीनतर्फ २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। ५४१ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

उच्च पहाडी क्षेत्रमा हिमनदी भत्किएपछि आएको चट्टान र हिमपहिरोलाई पहिरोको मुख्य कारण मानिएको छ। घटनाको एक साता पुग्दा पनि उद्धार तथा खोजी कार्य जारी छ। चीनले दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मी, चार सयभन्दा बढी उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी उपकरण, आठ सयभन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरेको छ।

गेइरोङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा २७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। करिब ३३६ उद्धारकर्मीले १५ लाख ९१ हजार वर्गमिटर क्षेत्रमा खोजी गरिरहेका छन्। उद्धारका क्रममा ८४७ वटा व्यक्तिगत सामान पनि बरामद गरिएको छ।

पहिरोका कारण अवरुद्ध भएको जी २१६ राष्ट्रिय राजमार्गमा चौबीसै घण्टा मर्मत गरेपछि बुधबार बिहानदेखि सडक पहुँच मूल रूपमा पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै थप उद्धारकर्मी, राहत सामग्री र ठूला उपकरण प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ।

चीनले नेपाललाई बाध ताल, हिमताल र आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना उपलब्ध गराइरहेको बताएको छ। साथै, मौसम अनुगमन, पूर्वानुमान र पूर्वसूचनासम्बन्धी सहयोग पनि जारी राखेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनले नेपालका लागि बेली ब्रिज, महामारी नियन्त्रणका सामग्री र आपत्कालीन सञ्चार उपकरणसहित राहत सामग्रीको तेस्रो खेप पठाउने तयारी गरेको छ। नेपालको आवश्यकताअनुसार डीएनए पहिचान विज्ञको अर्को टोली पठाउन पनि चीन तयार रहेको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्।

प्रकाशित: १८ भाद्र २०८३ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App