लन्डन (बिबिसी) – बेलायतमा ड्यूक अफ ससिक्स भनेर चिनिने राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले बेलायत र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्। उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरुले महारानी एलिजाबेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्घम दरबार त्यसबाट ‘निराश’ भएको बिबिसीले उल्लेख गरेको छ। राजपरिवारका वरिष्ठ सदस्य ह्यारी दम्पतीको घोषणाबाट ‘आहत’ भएको बुझिएको छ।
गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरुबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले संघर्ष गर्नुपरेको बताएका थिए। बुधबार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर यस्तो निर्णय गरेको ह्यारी दम्पतीले उल्लेख गरेका छन्। उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्।
‘हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौं,’ विज्ञप्तिमा उल्लेख छ। महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै बेलायत र उत्तर अमेरिकामा समय व्यतीत गर्ने योजना भएको उनीहरूले बताएका छन्। ‘यो भौगोलिक सन्तुलनले हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन हामीलाई समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्नुका साथै नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ मिल्नेछ,’ ह्यारी दम्पतीको विज्ञप्तिमा छ।
‘ठूलो मतभेद’
ह्यारी दम्पतीले शाही जिम्मेवारी त्यागेको विषय भन्दा पनि राजपरिवारसँग परामर्शबिनै त्यस्तो निर्णय गरेकाले राजपरिवार बढी दुः खित भएको हुनसक्ने बिबिसीले अनुमान गरेको छ, ‘यसले एकातिर ह्यारी तथा मेगनबीच र अर्कातिर बाँकी राजपरिवारबीच ठूलो मतभेद भएको स्पष्ट रूपमा देखाउँछ।’ बकिङ्घम दरबारकी एक प्रवक्ताका अनुसार ह्यारी र मेगनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ। उनले भनिन्, ‘उनीहरुको भिन्न शैलीमा जाने इच्छा भएको हामी बुझ्छौँं, तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।’ क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ साताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरूका छोरा आर्चीको जन्म गत मे महिनामा भएको हो। बिदा मनाएर उनीहरु मंगलबारमात्रै बेलायत फर्किएका थिए। त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।
ह्यारी र मेगनको सम्बन्ध
राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको भन्ने जानकारी ८ नोभेम्बर २०१६ मा केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गर्दै गराएको थियो। त्यसपछि २८ नोभेम्बर २०१७ मा ह्यारी र मेगन विवाहका लागि तयार भएको जानकारी सार्वजनिक गरिएको थियो। १५ डिसेन्बर २०१७ मा केन्सिङ्टन दरबारले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको बताएको थियो। १९ मे २०१८ मा ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान गरिएको थियो। १५ अक्टोबर २०१८ मा केन्सिङ्टन दरबारद्वारा मेगन गर्भवती भएको जानकारी गराइएको थियो। ह्यारी दम्पतीलाई ६ मे २०१९ मा पुत्रलाभ भएको थियो।
प्रकाशित: २५ पुस २०७६ ०४:३२ शुक्रबार