अष्ट्रेलियाली प्रहरीले पश्चिमी सिड्नीको भूमिगत बंकरबाट २.७ टन कोकेन बरामद गरेको छ। जुन देशकै अहिलेसम्मकै सबैभन्दा ठूलो बरामद हो।
लन्डनडेरीको एक सम्पत्तिमा तीनवटा ढुवानी कन्टेनरहरूमा नक्कली भुइँमुनि लुकाइएका डिब्बाहरूमा फेला परेको लागूऔषधको अनुमानित बजार मूल्य ८१६ मिलियन अस्ट्रेलियाली डलर रहेको छ।
प्रहरीले भाग्न खोजेका २१ र २५ वर्षका दुई युवाहरुलाई घटनास्थलबाट पक्राउ गरेको थियो। उनीहरूमाथि अवैध रूपमा आयात गरिएको सीमा–नियन्त्रित लागूऔषधको व्यावसायिक मात्रा राखेको आरोप लगाइएको छ।
प्रहरीकोअनुसार संगठित अपराध समूहको आदेशमा उत्तरी क्वीन्सल्याण्डको सानो शहर मिज प्वाइन्ट हुँदै अष्ट्रेलियामा कोकेन तस्करी गरिएको थियो।
शनिबार अदालतमा उपस्थित भएपछि हिरासतमा पठाइएका ती दुई जनालाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुनेछ।
प्रहरीले लन्डनडेरीको सम्पत्तिमा छापा मार्दा मिज प्वाइन्टमा डुङ्गाको र्याम्पबाट पानीमा तैरिरहेको ४० किलोग्राम कोकेन फेला परेपछि मे महिनामा सुरु गरिएको ‘अपरेशन मिनजियाङ’को एक हिस्सा भएको बताएको छ।
अष्ट्रेलिया लागूपदार्थको व्यापारको लागि एक आकर्षक बजार बन्दै गएको छ। गत वर्षको संयुक्त राष्ट्र संघको विश्व औषधि प्रतिवेदन अनुसार अष्ट्रेलियाली र न्यूजील्याण्डका मानिसहरूमा कोकेन प्रयोगको दर पनि विश्वमा सबैभन्दा बढी छ।
प्रकाशित: ८ असार २०८३ १८:२० सोमबार





