८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सैन्य परेडमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा पाँचको मृत्यु

यमन – दक्षिण यमनमा भइरहेको सैनिक परेड लक्षित क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ। सेक्युरिटी बेल्ट फोर्सेस्मा भएको पदपूर्तिअन्तर्गत पास आउट भएकाको दीक्षान्तको अन्त्यतिर भएको परेडमा क्षेप्यास्त्र आक्रमण भएको हो।

संयुक्त अरब इमिरेट्सले समर्थन गरेको उक्त सेक्युरिटी बेल्ट फोर्सेस् एउटा शक्तिशाली संगठन हो। आक्रमण अल– धालेया सहरमा भएको बिबिसीले उल्लेख गरेको छ। सेक्युरिटी बेल्ट हुथी विद्रोहीविरुद्ध यमनको सरकारी सेनासँगै मिलेर लड्न गठबन्धन गरिएको एउटा समूह हो।

सैन्य परेडमा क्षेप्यास्त्र आक्रमणको पछाडि हुथी विद्रोहीको हात रहेको यमन सरकारले आरोप लगाएको छ। यद्यपि यस विषयमा लामो समयदेखि यमनमा संघर्षरत हुथी विद्रोहीले भने आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन। यद्यपि यस्तै प्रकृतीका यसअघिका आक्रमणमा भने हुथी विद्रोहीकै संलग्नता रहने गरेका कारण पनि यो आक्रमणमा पनि उसकै हात रहेको हुनसक्ने अनुमान गरिएको छ। गत अगस्टमा भएको सेक्युरिटी बेल्टको यस्तै दीक्षान्त परेडमा पनि हुथी विद्रोहीले नै आक्रमण गरेको थियो। त्यसबेला ३० जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका थिए।

मार्च २०१५ बाट सुरु भएको द्वन्द्वका कारण यमनमा ठूलो क्षति पुगेको छ। हुथी विद्रोहीले देशको पश्चिमी भागको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा लिई राष्ट्रपति अब्द्राबुह मन्सोर हादीलाई विदेश भाग्न बाध्य बनाएपछि यमनमा द्वन्द्व सुरु भएको थियो।

सिया मुस्लिमको पावर हाउसका रूपमा चिनिने क्षेत्रीय शक्ति इरानको समर्थन रहेको भनिएको हुथी विद्रोही समूहको गतिविधिलाई रोक्न भन्दै अर्को क्षेत्रीय शक्ति साउदी अरबको  नेतृत्वमो अरबका अन्य आठ सुन्नी मुसलमान बाहुल्यता रहेका राष्ट्रले गठबन्धन बनाएर हवाई हमलालाई तीव्रता दिएसँगै यमनको आन्तरिक गृहयुद्ध झनै पेचिलो बन्न थालेको थियो। उक्त गठबन्धनले विदेश भागेका हादीको सरकारलाई पुनर्बहाली गर्ने भन्दै हुथी विद्रोहीविरुद्धमा हवाई हमलालाई अगाडि बढाएका थिए।

साउदी अरब नेतृत्वको गठबन्धनले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सबाट बन्दोबस्ती र गुप्तचरी सहयोग पाउँदै आएको छ। सन् २०१५ देखि सन् २०१९ सम्मको अवधिमा यमनमा ७० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ।

प्रकाशित: १४ पुस २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App