५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरिस सम्झौताबाट अलग्गिएकोबारे राष्ट्रसंघलाई औपचारिक पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

न्युयोर्क (एजेन्सी)– संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएकोबारे राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ।

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा जलवायु परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा गरिएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए। यद्यपि सो सम्झौताबाट बाहिरिएकोबारे संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मंगलबार औपचारिक पत्र पठाएको हो।

यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मंगलबार पत्र लेखेर औपचारिक रूपमै जानकारी गराएको राष्ट्रसंघले पनि पुष्टि गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका हुन्। ‘महासचिव गुटर्रेसले संयुक्त राज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गर्नुभएको छ,’ उनले बताए।

जलवायु परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए।

अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रूपमा पत्र आएको प्रवक्ताले जानकारी दिएका छन्।

सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रूपमा आर्थिक भार थपेको अमेरिकाको भनाइ रहँदै आएको छ। यही कारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो।

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो। करिब एक महिना अघि नै यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रूपमा नै जानकारी दिएका थिए।

जलवायु परिवर्तनका क्षेत्रमा एकताबद्ध भएर लड्ने प्रतिबद्धता व्यक्त भएको सो सम्झौतामा अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन्।

जलवायु सम्झौताबाट अलग्गिएकोबारे अमेरिकाले पठाएको पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी उनले दिएका छन्।

म्याक्रोंद्वारा दुःख व्यक्त
अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मंगलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रूपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्राेंले अमेरिकाको सो निर्णयले आफूलाई दुखित बनाएको मंगलबार बताएका हुन्।

चीनको औपचारिक भ्रमणका क्रममा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोंले अमेरिकाको यो निर्णयपछि जलवायु परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि सार्वजनिक गरेका छन्।

‘अमेरिकाको यो निर्णयले हामीलाई निकै दुखित बनाएको र मलाई लाग्छ अब विश्वमा जलवायु परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ ,’ राष्ट्रपति म्याक्रोंलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जलवायु परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि उनले जिकिर गरेका छन्। बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायु र जैविक विविधताका क्षेत्रमा अपरिहार्य विषय रहेको पनि सिन्ह्वाले जनाएको छ।

पेरिस सम्झौतामा हस्ताक्षर गरेका फ्रान्ससहित विश्वका नेतालेसम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गर्दै आएका थिए।

प्रकाशित: २० कार्तिक २०७६ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App