१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

स्तानबुल - उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्। सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमण केही दिनका लागि रोकिएको छ। अमेरिकाको आग्रहपछि टर्कीले पाँच दिनका लागि युद्धविराम गरेको जनाएको छ।

त्यस युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्वागत गर्नुभएको छ। उहाँले यो अस्थायी युद्धविराम भएपछि हालका लागि अमेरिकाले स्वागत गरेको बताएका थिए। सिरियाली द्धन्द्धको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले टर्कीले गरेको सो युद्धविरामको अनुगमन गरिएको जानकारी दिएको छ।

केही दिन अघि टर्कीले गरेको युद्धविरामबाट वार्ताको र त्यस क्षेत्रमा जारी रहेको हिंसाको अन्त्यका लागि अर्को कुनै पनि वातावरण बनोस् भन्ने पक्षमा सो संस्थाले अनुमगन गरिरहेको जानकारी गराएको हो।टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए। उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेको थिए।   
 
सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ।संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि त्यस आक्रमणप्रति चासो व्यक्त गरेको थियो। राष्ट्रसंघीय सुरक्षा परिषदको हालै बसेको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको छलफल भएको थियो।        
 
टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ। त्यसैगरी सो आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन्। मरिएका यी सर्वसाधारण प्रायः कुर्द समुदायका नागरिक नै भएको अधिकारवादीहरुले जानकारी दिएका छन्।    

अन्तर्राष्ट्रिय समुदायले उत्तरी सिरियामा टर्कीले गरेको यस आक्रमणका कारण मानवीय संकट पनि उत्पन्न हुनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको छ। सिरिया वर्षौँदेखि गृहयुद्धमा फसिरहेको छ। तर यहाँको युद्धको शान्तिपूर्ण र दिगो समाधानको बाटो भने अझै निस्किएको छैन।

सन् २०११ को मार्च महिना सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो।  यस जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो। सो समयदेखि हालसम्म जारी यस युद्धमा परी करिब ४ लाख व्यक्तिको मृत्यु भईसेकेको छ। लाखौ व्यक्ति घाइते भएका छन्। त्यसगरी लाखौ व्यक्तिले आफ्नु घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App