८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

सिरिया – टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्।

सिरियाको उत्तरी सीमावर्ती क्षेत्रमा कुर्दहरुको बाक्लो बस्ती छ। टर्कीले पृथकतावादीको आरोप लगाउँदै कुर्द–लक्षित भीषण आक्रमण थालेपछि अप्रत्यासित रूपमा नयाँ सम्झौताको घोषणा गरिएको हो।

टर्कीको सो सैन्य कारबाहीप्रति अन्तर्राष्ट्रिय समुदायले पनि आपत्ति जनाएको छ। गृहयुद्धका कारण कमजोर अवस्थामा रहेको सिरियाले टर्कीको आक्रमणप्रति खासै रुचि देखाएको छैन।

सिरियाली कुर्दिस लडाकुसँग मिलेर इस्लामिक स्टेट्विरुद्ध लडिरहेको अमेरिकी फौज पनि अमेरिकी राष्ट्रपतिको आदेशमा सो इलाकाबाट फिर्ता हुने तयारीमा छ। कुर्दिस इलाकामा हाल करिब एक हजार अमेरिकी सेना रहेको बताइएको छ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सोचेभन्दा बढी नै शक्ति लगाएर टर्कीले सिरियाली भूभागभित्र आक्रमण थालेपछि आफूहरु पनि सो इलाकाबाट बाहिरिन थालेको बताएका छन्।

टर्कीले सिरियाभित्र करिब ३० किलोमिटरको क्षेत्रलाई केन्द्रित गरी हवाई आक्रमण, बमवर्षा र सिरियाली लडाकुको सहयोगमा पैदल सैनिक परिचालन गरी आक्रमण गरिरहेको छ। यस आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारण र कुर्दिस लडाकु मारिएका छन्।

अमेरिकी सेना फिर्ता भएपछि सिरियाली कुर्दहरुले आफूलाई अमेरिकी प्रशासनले धोका दिएको बताउन थालेका छन्। इस्लामिक स्टेटविरुद्ध लड्न अमेरिकाले कुर्दहरुलाई प्रयोग गरे पनि अहिले अलपत्र छाडेको आरोप अमेरिकामाथि लागेको छ।

कुर्दहरुले वर्षौंदेखि अलग कुर्दिस्तान राज्य बनाउन सशस्त्र छापामार युद्ध गरिरहेका छन् जसमा सिरिया, टर्की, इराकसमेतका कुर्दहरु एकमत छन्। तर पछिल्लो पटक सिरियासँग गरिएको अप्रत्यासित सम्झौता भने कुर्दहरुमाथि टर्कीबाट भइरहेको आक्रमण रोक्नका लागि हो।

कुर्दिस प्रशासनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिरियाली अतिक्रमणसँग जुध्न सिरियाली सरकारसँग सम्झौता गरिएको छ ताकि सिरियाली सैनिकलाई सिरिया–टर्की सीमाक्षेत्रमा खटाउन सकिने छ र सिरियाली भूमिमा टर्कीले गरिरहेको आक्रमण रोकिने छ।’
सिरियाली समाचार संस्था सानाले टर्कीको अतिक्रमणलाई रोक्न सिरियाली सेना परिचालन हुन लागेको समाचार प्रकाशन भएलगत्तै नयाँ सम्झौताको खबर बाहिर आएको हो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन्। उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी पनि दिएका छन्।

मानव अधिकारवादी संस्था सिरियाली अब्जर्भेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ। हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

 

प्रकाशित: २८ आश्विन २०७६ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App