१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जी–सेभेन’को सहयोग ब्राजिलद्वारा अस्वीकार

ब्राजिलको अमेजन जंगलमा लागेको डढेलो

रियो दी जेनेरियो – अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि विश्वका सात शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको समूह ‘जी–सेभेन’ले गरेको आर्थिक सहयोगको प्रस्ताव ब्राजिल अस्वीकार गरेको छ।

सोमबार अन्त्य भएको ‘जी–सेभेन’ शिखर सम्मेलनको आयोजक राष्ट्र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि दुई करोड २० लाख अमेरिकी डलर उपलब्ध गराइने बताएका थिए।

‘जी–सेभेन’ राष्ट्रले आर्थिक सहयोग उपलब्ध गराउने बताए पनि ब्राजिलका मन्त्रालयहरुले सो रकम आवश्यक नरहेको बताएका छन्। ब्राजिल सरकारले विदेशी शक्तिले अमेजन जंगलमा नियन्त्रण गर्न खोजेको आरोप पनि लगाएको बिबिसीले उल्लेख गरेको छ। अमेजन जंगलमा लागेको डढेलो हालसम्मकै भयावय भएकोबारेका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन्।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले केही दिनअघि मात्रै अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि आफ्नो सरकारसँग पर्याप्त स्रोतसाधन नभएको बताएका थिए।

‘आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावका लागि धन्यवाद तर सो सहयोग युरोपमा वृक्षारोपण गर्नका लागि आवश्यक पर्नसक्छ,’ जी–सेभेनले आर्थिक सहायता प्रदान गर्नका लागि गरेको प्रस्तावमाथि प्रतिक्रिया जनाउँदै ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोका चिफ अफ स्टाफ अनिक्स लोरेन्जोनीले ग्लोबो न्युज वेबसाइटसँग बताए।
‘विश्व सम्पदा सूचीको एउटा महŒवपूर्ण गिर्जाघरमा लाग्न सक्ने सम्भावित आगलागीलाई रोक्न नसकेका म्याक्रोंले हाम्रो देशका लागि पाठ पढाउन खोज्ने,’ राष्ट्रपतिका चिफ अफ स्टाफ लोरेन्जोनीले बताए। उनले गत अप्रिल महिनामा फ्रान्सको राजधानी पेरिसस्थित ‘नट्र–डामे क्याथेड्रल’ मा लागेको आगलागीलाई उद्धृत गर्दैै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंप्रति कटाक्ष गरेका हुन्।

यसैगरी ब्राजिलका विदेशमन्त्री अर्नेस्टो अराउजोले विश्वव्यापी रूपमा भइरहेको वन विनाशसँग जुध्नका लागि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको प्रायोजनमा पहिलेदेखि नै संयन्त्र रहेको जिकिर गर्दै ‘जी–सेभेन’को सहयोग नचाइने बताए। उनले अमेजन जंगलमा आगलागी भएका बेला चलखेल गर्न खोज्नु अत्यन्तै निन्दनीय भएको पनि एउटा ट्विटमा उल्लेख गरेका छन्।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाको समूह ‘जी–सेभेन’को शिखर बैठक फ्रान्सको बियारिजमा सम्पन्न भएको थियो। सोही सम्मेलनमा अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि आर्थिक सहयोग गर्नेबारे घोषणा भएको थियो।

अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि परिचालित भइरहेका अग्निनियन्त्रण जहाजलाई आर्थिक सहायता प्रदान गर्न सहयोग उपलब्ध हुने बताइएको थियो।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले केही दिनअघि मात्रै अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि आफ्नो सरकारसँग पर्याप्त स्रोतसाधन नभएको बताएका थिए।
अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि ‘जी–सेभेन’ले गरेको प्रयास अपर्याप्त भएको ग्रिनपिस फ्रान्स नामक एक संस्थाले जनाएको छ।

सोमबार मात्रै कलाकार लियोनार्दो डिकाप्रियोले पनि अमेजन जंगलका लागि पाँच करोड डलर सहयोग गर्ने घोषणा गरेका थिए। विश्वभरबाट अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि चिन्ता व्यक्त भइरहेकै बेला जंगलसम्बन्धी विषयका एक विज्ञले भने ब्राजिललाई आर्थिक सहयोगभन्दा पनि उसको देशको राजनीतिक प्राथमिकतामा परिवर्तन आवश्यक रहेको बताएका छन्।

प्रकाशित: ११ भाद्र २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App