५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना

नैरोबी – अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ। अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ। तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ।

परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरिएको छ।

अफ्रिकी राइस सेन्टरका संयोजक पल किपेले भने, ‘यो परियोजनाले खासगरी महिला र युवालाई केन्द्रमा राखेर धान उत्पादनमा मद्दत गर्नेछ।’ केन्या अहिले मध्य आय भएको मुलुकको दर्जामा आइसकेको बताउँदै संयोजक पलले धान उत्पादन वृद्धि गर्न र खाद्यान्नको बढ्दो आयातलाई कम गर्न केन्याले ठोस कार्य गर्नुपर्ने समय आएको बताए। ‘यो परियोजनाले एकअर्का मुलुकका राम्रा सिकाईका बारेमा किसानसमक्ष लैजानेछ र धान उत्पादनमा दिगोपना ल्याउन मद्दत गर्नेछ,’ पलले भने।

अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड) को आर्थिक सहयोगमा सञ्चालित यस परियोजनाले स्थानीय तहमा खाद्यान्नको आपूर्ति व्यवस्थालाई सहज बनाउन ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले केन्याली अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ। पूर्वी अर्फिकाका यी तीन मुलुकले वार्षिक करीब ५० करोड अमेरिकी डलरबराबरको खाद्यान्न आयात गर्ने गरेका छन्।

‘यो परियोजनाबाट केन्याका धेरै घरपरिवारमा खाद्य तथा पोषण सुरक्षा वृद्धि हुने र रोजगारी बढ्ने छ,’ केन्याका कृषि, पशुपालन तथा मत्स्यपालन मन्त्रालयका सविच म्वान्गी किउन्जुरीले बताए। उनले परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास पनि व्यक्त गरेको सिन्ह्वाले जनाएको छ। केन्याली कृषकले हाल वार्षिक करिब ७० देखि ८० हजार मेट्रिक टन धान मात्र उत्पादन गरिरहेका छन्। 

प्रकाशित: ११ भाद्र २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App