ढाका – बंगलादेशमा शरणार्थीका रूपमा बसिरहेका म्यानमारका रोहिन्जा मुसलमानलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ। विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीलाई बिहीबार स्वदेश फर्काउने योजना बनाइएको थियो।
झण्डै सात लाख ४० हजार रोहिन्जा मुसलमानसन् २०१७ देखि बंगलादेशमा शरणार्थी बन्न बाध्य छन्। उनीहरुलाई स्वदेश फर्काउन बंगलादेशले पटकपटक प्रयास गरे पनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरूले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन्। आफूहरुलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरुले राखेको समाचारमा जनाइएको छ।
‘म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौं, हामी जाँदैनौं,’ रोहिन्जा शरणार्थीका नेता नोसिमालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
अर्का एक शरणार्थी मोहम्मद इस्लामले भने, ‘हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुप-यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनुप-यो।’ यसबारेमा आफुहरु स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरुले बताएका छन्।
अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समयअनुसार बिहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधन ल्याइएको थियो। तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरू शुक्रबार फर्किने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्।
‘हामीले २९५ परिवारसँग अन्तर्वार्ता गरिसकेका छौं, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,’ बंलादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरुसँग बताए। उनले शरणार्थीहरुसँग सरकारी अधिकारीहरुले अन्तर्वार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिएको एएफपीले उल्लेख गरेको छ।
प्रकाशित: ६ भाद्र २०७६ ०२:४९ शुक्रबार