१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने

नयाँदिल्ली– मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ। कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताएका छन्।

स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक दिलबाग सिंहले बताए। भारत सरकारले जम्मु काश्मिरलाई प्रदान गरिएको विशेष अधिकार रद्द गरेपछि यहाँ भड्किन सक्ने सम्भावित हिंसालाई ध्यानमा राखी सोमबारदेखि इन्टरनेट वा टेलिफोन सेवा बन्द गरिएको तथा आवागमनमा कडा प्रतिबन्ध लगाइएको छ।

काश्मिरमा हजारौंको संख्यामा थप सुरक्षाफौज पठाइएको छ। भारतको यस कदमलाई पाकिस्तान र केही भारतीय विपक्षी राजनीतिज्ञहरूले निन्दा गरेका छन्। भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो। भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ। रासस/एएफपी

प्रकाशित: २४ श्रावण २०७६ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App