१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान

वासिङ्टन– संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ। वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी विरुद्ध पनि प्रतिबन्धहरु लगाएको थियो। इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो। तर यसैबीच तीन वटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबार मात्र अमेरिकाले मन्जुरी दिएको थियो। खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि उक्त कदम चालिएको अनुमान छ। इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने 'यो ९० दिनका लागि मात्र म्याद थप गरिएको हो। हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्याँकन गरिरहेका छौं।'

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ। तर अमेरिका र साउदी अरेबीया, इजरायल समेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रुपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी “प्रपोगन्डा” मन्त्रीका रुपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताए।

यसैबीच इरानी राष्ट्रपति हस्सन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन्। उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाईको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको बताए। अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चार माध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ताहरु दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो  'अमेरिकीहरु हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन्।' रासस/एएफपी

प्रकाशित: १६ श्रावण २०७६ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App