१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छिमेकी मुलुकसँग सैन्य साझेदारी

काठमाडौं - चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ। चीनको राज्यपरिषद्को सूचना कार्यलयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी ‘श्वेतपत्र’ मा यस्तो उल्लेख छ।

चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशका सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण भएको उल्लेख छ। श्वेतपत्र अनुसार सबैजसो छिमेकीसँग उच्चस्तरीय सैन्य आदानप्रदान भइरहेको र बढ्दो रणनीतिक र आपसी विश्वासका क्षेत्रमा चीनले योगदान दिइरहेको छ।
उच्चस्तरीय सैन्य भ्रमण आदानप्रदानअन्तर्गत गत महिना मात्र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा एक साताका लागि चीन गएका थिए। उनको भ्रमणका बेला चीनले नेपाललाई दिने भनिएको विपद् व्यवस्थापन तथा मानवीय सहायतासम्बन्धी झन्डै साढे दुई अर्ब नेपाली रुपैयाँबराबरको प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको थियो।

अहिले पनि नेपाली सेनाको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीनको छेन्दु भ्रमणमा छ। चिनियाँ जनमुक्ति सेनासँग हुन लागेको सगरमाथा सैन्य अभ्यासको पूर्वतयारीका लागि उक्त प्रतिनिधिमण्डल छेन्दु पुगेको हो। श्वेतपत्रमा नेपालमा २०७२ सालमा भूकम्प गएपछि चीनले गरेको सहयोगबारे पनि उल्लेख छ। आठवटा विशेष टिम बनाएर १ हजार ८८ जना जनमुक्ति सेना उद्धार, मेडिकल, उपकरण र यातायातसहितका सामग्री लिएर नेपालका भूकम्प प्रभावित क्षेत्रमा खटिएको श्वेतपत्रमा लेखिएको छ। नेपाल आएका चिनियाँ सेनाले घाइतेको उपचार, बिग्रिएका सडक पुनर्निर्माण, एयरलिफ्ट जस्ता काम गरेको श्वेतपत्रमा उल्लेख छ।

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे भूकम्पका बेला उद्धार कार्यमा चिनियाँ उद्धार टोली र उनीहरूका उपकरण सबैभन्दा बढी प्रभावकारी भएको स्वीकार्छन्। ‘अरुको तुलनामा चिनियाँ उद्धार टोली सबैभन्दा प्रभावकारी देखिएको थियो,’ पाण्डेले भने।

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ। चीनसँग नेपालसहित विभिन्न १४ मुलुकको सीमा जोडिएको छ। चीनले पछिल्ला वर्ष विभिन्न सैन्य अभ्यास गर्दै आइरहेको छ। नेपाल र चीनबीच हुँदै आइरहेको सगरमाथा संयुक्त सैन्य अभ्यास पनि संयुक्त सैन्य अभ्यासको एउटा पाटो हो।

यो वर्ष पनि दुई मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको छ। चीनले छिमेकी मुलुकसँगको सैन्य सम्बन्ध स्थिर रहेको दाबी गरेको छ। उसले सीमा जोडिएका छिमेकीसँग टेलिफोन र फ्याक्समार्फत सम्पर्क स्थापना गर्ने र निरन्तर सीमा बैठक र संयुक्त गस्ती भइरहेको पनि श्वेतपत्रमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७६ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App