१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै बोरिस जनसन (दायाँ) र साथमा उनका प्रतिद्वन्द्वी वर्तमान विदेशमन्त्री जेरेमी हन्ट। तस्बिर ः एजेन्सी

लन्डन – बेलायको सत्तारुढ कन्जर्भेटिभ दलले प्रधानमन्त्री थेरेसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। टोरी दलको नेतृत्वको प्रतिस्पर्धाको परिणाम बेलायतको स्थानीय समय अनुसार पौने १२ बजे घोषणा भएको हो। दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लन्डनमा सार्वजनिक भएको बिबिसीले उल्लेख गरेको छ। उनको ९२ हजार एक सय ५३ मत आएको थियो भने उनका प्रतिद्वन्द्वी जेरेमी हन्टले मात्र ४६ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए।

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए। ती प्राथमिकतामा ब्रेक्जिट दिनु, बेलायतलाई एकताबद्ध गर्नु र विपक्षी दलका नेता जेरेमी कर्बिनलाई पराजित गर्नु रहेको उनको भनाइ थियो। बुधबार उनले थेरेसा मेको उत्तराधिकारीका रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गर्नेछन्।

अर्थमन्त्री फिलिप ह्यामन्ड र कानुनमन्त्री डेविड गेउकले जनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने यसअघि नै बताइसकेका छन्। जनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका एक जना मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए। दलका वरिष्ठ नेताहरुले लन्डनका पूर्वमेयर बोरिस जनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताएपछि उनी सुरुदेखि नै जितको दाबेदार देखिएका थिए।

बेलायतं युरोपेली संघबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरुको विरोध खेपेकी प्रधानमन्त्री थेरेसा मेले संसद्मा बुधबार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथसमक्ष आफ्नो राजीनामा प्रस्तुत गर्ने छिन्। उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन्। देशभरीबाट कन्जर्भेटिभ दलका सदस्यहरूले पछिल्लो साढे दुई सातामा पत्रमार्फत् नयाँ प्रधानमन्त्री पदका लागि मतदान गरेका हुन्।

यो कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरुले प्रधानमन्त्री छान्न पाएको पहिलो अवसर हो। गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा बेलायतले युरोपेली सं३ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेका जनसन नेतृत्वका लागि अगाडि रहेका थिए।

पूर्वमन्त्री डोमिनिक राबले स्काई न्यूज टिभीलाई पहिलो चरणको मतदानमा ५० प्रतिशत सांसदको मन जितेका जनसन दललाई एकताबद्ध गर्न उपयुक्त स्थानमा रहेको बताएका थिए। अर्का मन्त्री जेम्स ब्रोकेनसायरले च्यानल फोरलाई जनसन युरोपसँग सबैभन्दा राम्रो प्रस्ताव प्राप्त गर्न र त्यो प्रस्तावलाई संसद्बाट पारित गर्न उपयुक्त व्यक्ति भएको बताएका थिए। बेलायतको संसद्ले मेको प्रस्तावलाई तीनपटक अस्वीकार गरेको थियो। विदेशमन्त्री जेरेमी हन्टले आफू युरोपबाट बाहिरिने राम्रो प्रस्ताव प्राप्त गर्न उपयुक्त स्थानमा रहेको र युरोपले दिएको समयसीमा थप गर्न सक्ने बताएका थिए।

जनसनले भने अक्टोबर ३१ भित्रै बेलायतलाई युरोपेली संघबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन्। चान्सलर फिलिप ह्यामन्ड, न्यायमन्त्री डेभिड गोक र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टले जनसन विजयी भएमा राजीनामा गर्ने बताएका थिए।

जोनसन पार्टी नेतृत्वमा निर्वाचित भएसँगै उनलाई सामाजिक सञ्जालमार्फत विश्वभरीबाट बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत वधाई दिँदै भने, ‘पार्टी नेताको निर्वाचनमा विजय हासिल गर्दै बेलायतको प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सफल भएकोमा तपाईंलाई बधाई। आगामी दिनमा थप सफलता प्राप्त गर्नुहुनेछ।’

त्यसैगरी जनसनलाई जर्मन चान्सलर एन्जेला मर्केल, युरोपेली संघका तर्फबाट ब्रेक्जिटका लागि मध्यस्थताकर्ता मिसेद बार्नियर, युरोपेली आयोगका प्रमुख जाँ क्लाउडको तर्फबाट उनका प्रवक्तालगायतले जोनसनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन्।

जोनसनसँग जोडिएका महत्वपूर्ण मिति

कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो। उनले सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चार पर्षपछि स्नातक पास गरेका थिए। सन् १९८७ देखि करिब दुई बर्ष ‘द टाइम्स पत्रिका’मा समेत जनसनले काम गरेका थिए।

जनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको संवाददाताका रूपमा पनि काम गरेका थिए। सन् १९९९ देखि २००५ सम्म ‘द स्पेक्टेटर’ नामक खबर पत्रिकामा काम गरेका उनी सन् २००१ मा नै लन्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद् सदस्य बनेका थिए। उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित भएका थिए।     सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लन्डनको नगर प्रमुख (मेयर) बनेका जनसन सन् २०१२ मा पनि लन्डनको मेयरका रूपमा निर्वाचित भएका थिए।

उनले सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसद््मा प्रतिनिधित्व गरेका थिए भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट उनी निर्वाचित भएका थिए। सन् २०१६ मा भएको जनमत संग्रहमा युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)को पक्षमा मतदान गरेका बेलायती नागरिकलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हालेको भए पनि प्रधानमन्त्री थेरेसमा मेको ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा पदबाट राजिनामा दिएका थिए। उनी सन् २०१९ को जुलाई २३ अर्थात् मंगलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित भएका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App