१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नक्कली समाचार नियन्त्रणका लागि दुई अर्ब

बेलायती विदेशमन्त्री जेरमी हन्ट।

लन्डन – पूर्वी यूरोपमा बेलायत विरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पाउन्ड स्टर्लिङ (करिब दुई अर्ब ४६ करोड ६० लाख नेपाली रुपैयाँ) बराबरको बजेटको व्यवस्था गर्ने बेलायी सरकारले बताएको छ। बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ। उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन वर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन्।

‘कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ।’

‘विश्वका जम्मा १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहँुच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण सामाजिक  मूल्यमान्यता अवमूल्यन हुनुका साथै अस्थिरता निम्त्याउने गरेको देखिएको छ,’ बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,’ उनले बताए।

सरकारले जारी गरेको सार्वजनिक विज्ञप्तिमा रुसका पूर्वगुप्तचर बाबुछोरीमाथि भएको आक्रमण जसलाई साल्सबरी घटना पनि भनिन्छ, सो घटनापछि बेलायतले भ्रामक समाचार विरोधी अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ। बेलायतले यसै साता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिनपछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो। प्याकेज पूर्वी यूरोप तथा मध्य एसियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियान स्वरूप ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन्।
 

प्रकाशित: २३ असार २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App