coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएला–कोलम्बिया सीमा चार महिनापछि खुला

सीमा खुलेसँगै भेनेजुएलाबाट कोलम्बियातर्फ जाँदै भेनेजुएली नागरिक। तस्बिर ः एजेन्सी

कराकस – भेनेजुएला र कोलम्बियाको बन्द रहेको सीमाना चार महिनापछि पहिलोपटक खुलेको छ। सीमा खुलेसँगै दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्। फेबु्रअरी महिनामा विपक्षी नेता उवान गुआइडोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोको अनुरोधमा दुई देशबीचको सीमा बन्द गरिएको थियो।

दुई देशबीचको सीमा खुलेसँगै शनिबार ३० हजार भेनेजुएली नागरिक कोलम्बिया पुगेको कोलम्बियाको विदेश मन्त्रालयले जनाएको छ।

वर्षौं लामो आर्थिक संकटका कारण भेनेजुएलामा आधारभूत चीजको समेत अभाव हुँदै गएपछि दुई देशबीच बन्द रहेको सीमानाका खुलाइएको हुनसक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्र संघका विभिन्न निकायका अनुसार देशको राजनीतिक र आर्थिक संकटका कारण सन् २०१५ यता मात्रै ४० लाख मानिसले भेनेजुएला छोडेका छन्।

कोलम्बियाको विदेश मन्त्रालयका अनुसार दुई देशबीचको सीमानाका खुलेसँगै शनिबार ३० हजार भेनेजुएलाका नागरिक कोलम्बिया पुगेका छन्। विपक्षीहरुले विदेशी सहायता ल्याउने कार्यक्रम सुरु गरेपछि राष्ट्रपति मादुरोले त्यो कार्य आफूलाई हटाउन गरिएको प्रयत्नको एक अंश भन्दै विरोध गरेपछि कोलम्बिया, ब्राजिल र डच एन्टिलेस आइल्यान्डहरुसँगको सीमा यो वर्षको सुरुतिर बन्द गरिएको थियो। गत महिना मादुरोले बा्रजिल र आइल्यान्ड अफ अरुबासँगको सीमा खोल्ने घोषणा गरेका थिए तर अरुबाका अधिकारीहरुले सीमा बन्द रहने जनाएका छन्।

कोलम्बियासँगको सीमा खोल्ने घोषणा ट्विटरमा गर्दै मादुरोले उनको देशमा संकट बढ्नुको आरोप वासिङ्टन नेतृत्वको आर्थिक युद्ध भएको बताएका छन्। आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भर पर्ने गरेका सीमा क्षेत्रमा रहेका भेनेजुएलाका सहरहरुमा सीमा बन्दले निकै समस्या पारेको थियो। त्यसबीचमा कैयौंले अवैधानिक रूपमा सीमा पार गरेका थिए। जसले गर्दा सीमा क्षेत्रमा रहेका अपराधीलाई शुल्क बुझाउनुपरेको थियो।

बन्द हुनु अघि सीमोन बोलिभर अन्तर्राष्ट्रिय पुल हरेक दिन ३० हजार मानिसले पार गर्ने गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपी जनाएको छ। विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले मादुरोको पुनर्निर्वाचन अवैधानिक भन्दै यस वर्षको सुरुतिर आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट झन् गहिरिएको छ
त्यसयता उनलाई अमेरिका र धेरैजसो ल्याटिन अमेरिकी लगायत ५० देशले समर्थन गरिसकेका छन् भने मादुरोलाई त्यहाँको शक्तिशाली सेना तथा महŒवपूर्ण राष्ट्रहरु चीन, रुसलगायत मेक्सिको, टर्कीसहितका समर्थन प्राप्त छ।

यसैबीच हलिवुड नायिका तथा संयुक्त राष्ट्र संघीयय शरणार्थी निकाय युनएचसिआरकी विशेष दूत एन्जेलिना जोलीले भेनेजुएलाका शरणार्थी रहेका मुलुकहरु कोलम्बिया, इक्वेडर र पेरुलाई विशेष सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्।उनले कोलम्बियाका राष्ट्रपतिलाई भेटेपछि भेनेजुएलाका विस्थापित परिवारबाट जन्मिएका २० हजार बालबालिका उनीहरुका बाबुआमा आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहँदा राज्यविहीन हुने खतरा बढेकोतर्फ चिन्ता व्यक्त गरेकी छन्। शुक्रबार युएनएचसिआर र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी राष्ट्र संघीय संस्था आइओएमले भेजेजुएलाका मानिस ‘अहिले आफ्नै देशबाट विस्थापित हुने सबभन्दा ठूलो समूहमध्ये एकमा पर्ने’ बताएका थिए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App