८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मंगलबार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके।

त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए।

हिंसा किन चर्कियो?
जाकार्ताका गभर्नरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो हिंसामा परी छ जनाको ज्यान गएको छ भने २०० जना घाइते भएका छन्। इन्डोनेशियाको निर्वाचन आयोगका मङ्गलवार विडोडोले ५५.५ प्रतिशत मत हासिल गर्दै राष्ट्रपति निर्वाचित भएको पुष्टि गरेको हो। मत परिणामअनुसार प्राबोवो राष्ट्रपति विडोडोसँग पराजित हुन पुगे।

एप्रिल १७ तारिखमा भएको मतदानमा १९ करोड २० लाख मतदाता मतदान गर्न योग्य थिए। परिणाम घोषणा हुने बेलामा प्राबोवोका हजारौँ समर्थकहरू निर्वाचन सुपरिवेक्षण भवनबाहिर भेला भएका थिए। प्रहरीले हटाएपछि उनीहरू जाकार्ता नगरमा अन्य भागमा पुगेका थिए। साँझ पर्न थालेपछि प्रदर्शनहरू हिंसात्मक हुन थाले। स्थानीय टेलिभिजनले महानगरका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्न थालेका भिडिओहरू प्रसारण गरे।

सुरक्षा फौज परिचालन
प्रहरी प्रवक्ता देदी प्रासेत्योले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार "हुलदङ्गामा संलग्न हुने २० जनाभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। उनले प्रहरीले गोली नबोकेको बताए। हिंसा चर्किने भय बढेपछि जाकार्तामा ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन्। मङ्गलवार विपक्षी नेता प्राबोवोले निर्वाचन परिणामलाई अस्वीकार गर्दै आफूले न्यायालयको ढोका ढक्ढक्याउने बताए। तर उनले आफ्ना समर्थकहरूलाई संयम अपनाउन अनुरोध गरेका थिए।

'व्यापक धाँधली' भएको आरोप
अन्तिम परिणाम आउनुअघि उनले व्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणामविरुद्ध सडक तताउन सक्ने चेतावनी दिएका थिए। सन् २०१४ मा विडोडो निर्वाचित भएपछि प्राबोवोले इन्डोनेशियाको संवैधानिक अदालतमा निर्वाचन परिणामविरुद्ध चुनौती दिएका थिए। तर प्राबोवोले मुद्दा हारे। धार्मिक मुद्दाले महत्त्वपूर्ण भूमिका खेलेको यो निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ। विडोडोले ५५.५ प्रतिशत मत हासिल गरेको र प्राबोवोले ४४.५ मत आफ्नो पोल्टामा पारेको निर्वाचन आयोगले जनाएको छ। बीबीसी

प्रकाशित: ८ जेष्ठ २०७६ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App