१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी सम्राटद्वारा गद्दी त्याग

राजगद्दी त्यागेको घोषणा गर्नका लागि आयोजित समारोहमा जाँदै जापानी सम्राट अकिहितो। तस्बिरः रोयटर्स

टोकियो – जापानी सम्राट अकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गरेको घोषणा गरेका छन्। राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित एक ऐतिहासिक समारोहकै बीच ८५ वर्षीय स्रमाट अकिहितोले गद्दी त्यागको घोषणा गरेका हुन्।

केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको सम्राट अकिहितोले बताउने गरेका थिए। पटकपटक असमर्थता जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। सम्राटका रूपमा अन्तिम सार्वजनिक सम्बोधन गर्दै सम्राट अकिहितोले आफ्नो ३० वर्षीय शासनकालमा जनता दिएको समर्थनका लागि धन्यवाद ज्ञापन गरेका थिए। उनले राजगद्दी त्यागेको घोषणा गर्दै शक्तिको संकेत हस्तान्तरणसमेत गरेका छन्।

अन्तिम सम्बोधनमा सम्राट अकिहितोले जापान र विश्वको शान्ति र समृद्धिको कामना गरे। ‘मलाई एकताको प्रतीकका रूपमा लिएर मेरो समर्थन गरेका सबैप्रति म कृतज्ञ छु,’ सम्बोधन गर्दै सम्राट अकिहितोले बताए। अकिहितोको राजगद्दी त्याग्ने समारोहमा प्रधानमन्त्री सिन्जो आबे, युवराज नारुहितो र युवराज्ञी मासाकोसहित करिब तीन सय मानिस सहभागी रहेको बिबिसीले उल्लेख गरेको छ।

अकिहितोले सम्बोधन गर्नुभन्दा अघि छोटो सम्बोधन गर्दै प्रधानमन्त्री आबेले सम्राटले लिएको कदम प्रत्येक जापानीको मनमा रहने बताए। उनले शान्ति र आशाले भरिएको जापान बनाउन सबै लागि पर्ने पनि सम्बोधनका क्रममा बताए।
जापानको दुई सय वर्षभन्दा बढीको राजतन्त्रात्मक इतिहासमा आफ्नो स्वेच्छाले राजगद्दी त्याग्ने अकिहितो पहिलो सम्राट हुन्।

राजगद्दी त्यागेको घोषणा गरे पनि अकिहितो प्राविधिक रूपमा मंगलबार मध्यरातसम्म जापानको सम्राट हुने छन्। मध्यरातपछि भने उनका छोरा युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने छन्। अर्थात् मे १ बाट युवराज नारुहितो जापानका सम्राट बन्ने छन्।

जापानको संविधानअनुसार सम्राट राज्य प्रमुख भए पनि उनी आलंकारिक हैसियतका हुन्छन्। उनीसँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकका रूपमा लिइने सम्राटको जापानमा राजाको ठूलो सम्मान हुने गरेको छ।  मे १ बाट जापानमा नयाँ शाही युगको सुरुवात हुँदैछ ।

यसको तयारीस्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ। सोमबार जापानी सरकारका मुख्य सचिव योसिहिडे सुगाले यसको घोषणा गरेका थिए। सुगाले हस्तलिखित वर्णमालाको एक कार्डबोर्ड देखाउँदै नयाँ युगको नाम ‘रेईवा’ भएको सार्वजनिक गरेका थिए। हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ। तीन दशकसम्म चलेको हेइसी युग सम्राट अकिहितोको गद्दी त्याग गरेसँगै अन्त्य भएको छ।

जापानमा सम्राटअनुसार युगको नामकरण गरिन्छ।  प्रधानमन्त्री सिन्जो आबेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशवासीको नाममा सम्बोधन गर्ने छन्। आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेका सम्राट अकिहितोले तीन वर्षअघि नै बताएका थिए। जापानमा गरिएका मत सर्वेक्षणले अधिकांश जापानीले सम्राटको गद्दी त्याग्ने मनसायको समर्थन गरेका थिए। त्यसको एक वर्षपछि संसद्ले उनको गद्दी त्याग सम्भव तुल्याउन कानुनसमेत पारित गरेको थियो।
सम्राट आकिहितोले गद्दी त्याग गरेपछि राजगद्दी सम्हाल्न लागेका युवराज नारुहितो जापानका १२६औं सम्राट हुने छन्। उनी गद्दीमा आसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका ५९ वर्षीय युवराजले युवराज्ञी मासाकोसँग विवाह गरेका थिए। युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन।

वर्तमान कानुनअनुसार नारुहितोपछि उनकै भाइ फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुने छन्। त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो राजगद्दीको उत्तराधिकारी हुने छन्। हाल उनी १२ वर्षका भए। जापानमा राजसंस्थालाई अत्यन्तै सम्मानित संस्थाका साथै एकताको प्रतीकका रूपमा लिइन्छ। जापानको वर्तमान राजतन्त्रको वंश विश्वकै पुरानो राजतन्त्रात्मक वंश हो। यसको इतिहास ६०० बिसी पुरानो हो।

जापानमा दोस्रो विश्वयुद्ध अघिसम्म सम्राटलाई भगवानका रूपमा लिइन्थ्यो। तर अकिहितोका पिता हिरोहितोले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि त्यस्तो शक्ति सार्वजनिक रूपमै गुमाए। जापानी राजसंस्थाको गिरेको साखलाई सम्राट अकिहितोले पुनः सबलीकरण गरेका थिए।

अकिहितो अघिका सम्राटहरुले जनतासँग विरलै साक्षात्कार गर्थे तर अकिहितोले भने सम्राटको त्यस्तो भूमिकालाई बदल्दै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने गरेका थिए।

प्रकाशित: १८ वैशाख २०७६ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App