कोलम्बो – श्रीलंकामा गत आइतबार गराइएको शृंखलाबद्ध आत्मघाती आक्रमणमा संलग्न अतिवादी इस्लामिक समूहका सबै सदस्य मारिएको तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले आइतबार बताएका छन्।
‘आगामी दिनमा यस किसिमका घटना हुन नदिन पूर्व सावधानीस्वरूप इस्लामिक अतिवादी समूहविरूद्ध सरकारले कडा कानुनी व्यवस्था गर्ने योजना ल्याएको छ। श्रीलंकामा गैरकानुनी रूपमा काम गर्दै आएका विदेशी इसाई धार्मिक नेतालाई पनि फिर्ता गरिने छ,’ प्रधानमन्त्रीले बताए।
‘गत साता २५३ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण एउटा सानो तर संगठित समूहले गराएको अनुसन्धानबाट थाहा भइसकेको छ,’ प्रधानमन्त्री विक्रमासिंघेले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
‘आक्रमणमा संलग्न अधिकांशलाई सरकारले पक्राउ गरिसकेको छ भने केही मारिएका छन्,’ प्रधानमन्त्री विक्रमासिंघेको विज्ञप्ति उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘अब देशको सुरक्षास्थिति सामान्य बनिसकेको छ। सबै मिलेर सम्पूर्ण समुदायको जनजीवनलाई सामान्य बनाउन काम गर्नुपर्छ,’ विक्रमासिंघेले बताएका छन्।
तीन गिर्जाघर तथा तीन होटेललाई लक्षित गरी गत साता गराइएका आक्रमणमा ४० विदेशी पाहुनासहित २५३ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ। आक्रमणपछि करिब सय जनालाई पक्राउ गरिएको छ। अधिकारीका अनुसार श्रीलंकामा इस्लामिक स्टेट समूहका करिब १४० अनुयायी रहेका छन्। सरकारले शनिबारदेखि लागू हुनेगरी आपतकालीन कानुनी व्यवस्थामार्फत गत साताको आक्रमणमा संलग्न रहेको भनिएको अतिवादी इस्लामिक समूह नेसनल तौहिद जमात (एनटिजे) समूहमाथि रोक लगाएको छ।
प्रकाशित: १६ वैशाख २०७६ ०७:०५ सोमबार