१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकालाई थप लचिलो बन्न उत्तर कोरियाको आग्रह

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। फाइल तस्बिरः एजेन्सी

सोल– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले संयुक्त राज्य अमेरिकालाई वार्ताका लागि थप लचिलो बन्न आग्रह गरेका छन्।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता रोकिएको परिवेशमा दुई देशबीच थप तनाब उत्पन्न हुनसक्ने खतरा रहको भन्दै उत्तर कोरियाली सर्वोच्च नेता किमले आफू पुनः वार्ताका लागि तयार रहेको बताएका छन्।

राज्य सञ्चालित उत्तर कोरियाली समाचार एजेन्सी केसिएनले शनिबार बताएअनुसार नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्प सही नियतसहित वार्ताका लागि तयार रहे आफू उनीसँग भेट्न इच्छुक रहेको बताएका छन्।

वार्ताका लागि थप लचिलो बन्नका लागि आफूले यो वर्षको अन्त्यसम्म अमेरिकालाई कुर्ने पनि नेता किमले बताएको केसिएनएलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘अमेरिकाले ठोस निर्णय गरोस् भनेर हामी यस वर्षको अन्त्यसम्म धैर्यताका साथ उसको प्रतिक्षा गर्ने छौं तर मलाई त्यस्तो असल मौका सजिलै आउला जस्तो भने लाग्दैन,’ सम्बोधनका क्रममा नेता किमले बताए।

‘अमेरिकाले अहिले गरिरहेको हिसाबकिताबको शैली परिवर्तन गरेर नयाँ शैलीसहित हामीसँग छलफल गर्न आवश्यक रहेको छ,’ उत्तर कोरियको सर्वोच्च अंग जनसभामा शुक्रबार सम्बोधन गर्दै नेता किमले बताएको केसिएनएले जनाएको छ।

परम्परागत दुई शत्रु राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले यसअघि दुई पटकसम्म भेटवार्ता गरेका छन्।

गत वर्षको जुन १२ का दिन इतिहास मै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा शिखर बैठक भएको थियो। त्यसपछि यस वर्षको फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा दोस्रो पटक शिखर बैठक सम्पन्न भएको थियो।

पहिलो शिखर बैठकका बेला उत्तर कोरियाली नेता किमले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नका लागि अमेरिकासँग मिलेर काम गर्नेबारे सहमति प्रकट गरेका थिए भने यसबापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाका प्रत्याभूति गर्ने ट्रम्पले प्रतिबद्धता व्यक्त गरेका थिए। पहिलो शिखर बैठकपछि उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम र क्षेप्यास्त्र निर्माण कार्यलाई रोकेको थियो र आफ्नो क्षेप्यास्त्र परीक्षण केन्द्र ध्वस्त गरेको बताएको थियो। यद्यपि दोस्रो शिखर बैठक भने त्यति सुखद् हुन सकेन र दुई नेताबीचको बैठक कुनै ठोस निर्णयबिनै स्थगित भएको थियो।
उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रम त्यागेबापत उसमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनेबारे अमेरिका सहमत नभएपछि दुई नेताबीच हनोईमा भएको शिखर बैठकमा कुनै पनि सम्झौता भएको थिएन।

बैठकमा कुनै सहमति नभए पनि बैठकपछि अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमको प्रशंसा गर्दै ट्विटमा एउटा विज्ञप्ति जारी गरेका थिए।

ट्रम्पले नेता किमसँगको आफ्नो सम्बन्ध र उनको क्षमताबारे ट्विटमा प्रशंसा गर्दै उतर कोरियाको हतियार कार्यक्रम समाधान भए उसँग आर्थिक सफलताका लागि प्रशस्त क्षमता भएको बताएका थिए।

‘हामी कुन धरातलमा छौं भनेर निक्र्यौल गर्न सक्यौं भने पक्कै पनि तेस्रो शिखर बैठक राम्रो हुनेछ,’ शनिबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

‘म त्यो दिनको प्रतिक्षा गरिरहेको छु जुन चाँडै पनि हुनसक्छ। आणविक हतियार त्याग्ने र प्रतिबन्ध हटेपछि उत्तर कोरिया विश्वको सफल राष्ट्रमा समावेश भएको दिनको प्रतिक्षा मैले गरिरहेको छु,’ ट्रम्पले ट्विटमा उल्लेख गरेका छन्।

उता, नेता किमले भने हनोई बैठकको निष्कर्षपछि आफूले गत वर्ष लिएको अन्तर्राष्ट्रिय संलग्नता र अमेरिकासँगको वार्ताको नीतिबारे सोच्न बाध्य बनाएको शनिबारको सम्बोधनमा बताएका छन्।

प्रकाशित: १ वैशाख २०७६ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App