coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका होमल्यान्ड सेक्युरिटी प्रमुखद्वारा राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो पदबाट राजीनामा दिएकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रियरस्टिन नियलसेन। तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकाका होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रियरस्टिन नियलसेनले आफ्नो पदबाट राजीनामा दिएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित सीमा नीतिमा केही विषय राख्न दबाव दिएकी सेक्रेटरी नियलसेनले आइतबार पदबाट राजीनामा दिएको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भन्सार तथा सीमा संरक्षण आयुक्त केभिन म्याकएलिनानले तत्कालका लागि उनको स्थान लिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। नियलसन मेक्सिकोसँगको प्रस्तावित सीमा पर्खाल एवं आप्रवासी परिवारलाई विभाजन गर्नका लागि जिम्मेवार रहेकी थिइन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले ‘कडा’ आप्रवासी नीति अवलम्बन गर्न चाहेको जनाउ दिएपछि उनको राजीनामा आएको बिबिसीले उल्लेख गरेको छ। ट्रम्पले बारम्बार आप्रवासीलाई लिएर नियलसन पर्याप्त मात्रामा कठोर नबनेको आरोप लगाउने गरेका थिए। पछिल्ला केही महिना गैरकानुनी रूपमा मध्य अमेरिकी देशका आप्रवासीको अमेरिकी प्रवेशमा वृद्धि भइरहेको छ। आप्रवासीको संख्यामा तीव्र वृद्धि हुन थालेपछि राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिँदै आएका छन्। उनले मेक्सिकोलाई लागूऔषधको कारोबार बन्द गर्न र आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि एक वर्ष दिनेबारे प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिका–मेक्सिको सीमा अवस्थाबारे थप समाधान खोज्नका लागि नियलसन आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफलमा गएकी थिइन्। समस्या समाधानका लागि राष्ट्रपतिलाई भेट्न गएकी नियलसनलाई समस्याको समाधान दिनुको साटो उनको पदबाट राजीनामा दिन बाध्य पारिएको नाम उल्लेन नगरिएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले लेखेको समाचार बिबिसीले साभार गरेको छ। यद्यपि नियलसनले भने राजीनामा दिनुको कारणबारे आफ्नो राजीनामा पत्रमा केही पनि विषय उल्लेख गरेकी छैनन्। उनले आफ्नो राजीनामा पत्रमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरीको पदबाट बाहिरिनका लागि उपयुक्त समय आएकाले पद छोडेको बताएकी छन्। उनले आफूले प्रशासनको जिम्मेवारी लिनुपूर्वभन्दा अहिले अमेरिका सुरक्षित रहेको समेत राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

नियलसनले सर्वप्रथम सन् २०१७ को जनवरीमा पूर्व होमल्यान्ड सेक्युरिटी प्रमुख जोन केलीको सहायकका रूपमा ट्रम्प प्रशासनमा समाहित भएकी थिइन्। जोन केली ह्वाइट हाउस चिफ अफ स्टाफ भएर गएपछि नियलसनले उनको उपप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् तर सोही वर्ष नै उनले होमल्यान्ड सेक्युरिटीको प्रमुखको जिम्मेवारी सम्हालिन्।
आप्रवासीका बालबालिकालाई नियन्त्रणमा लिनेबारेको अमेरिकी नीतिको नियलसनले कडा रूपमा प्रतिरक्षा गरेकी थिइन्। यस अलावा उनले विशेषगरी विपक्षी डेमोक्रेटहरुले देशको संसद्मा सीमा नीतिबारे उठाउने प्रश्नको पनि दरिलो तरिकाले जवाफ दिने गरेकी थिइन्। यद्यपि नियलसन बेलावखत विवादमा पनि आइरहेकी हुन्थिन्।

वासिङ्टन डिसीस्थित एक मेक्सिकन रेष्टुरेन्टमा खाना आएको विषयमा पनि सन् २०१८ को जुन महिनामा उनी विवादमा तानिएकी थिइन्। त्यसबेला उनीविरुद्ध प्रदर्शनसमेत भएका थिए। यद्यपि उनले ती प्रदर्शनबीच टुटेको आप्रवासी नीतिलाई सुदृढ बनाउन अहोरात्र खट्ने भन्दै ट्विट गरेर मत्थर बनाउने प्रयास गरेकी थिइन्। सार्वजनिक रूपमा ट्रम्प प्रशासनसँग राम्रो सम्बन्ध भएको जस्तो देखिए पनि नियलसनको राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध जहिले पनि असहज रहेको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७५ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App