१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा गोली हानी विधायकको हत्या

कोलकाता – भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्।
पश्चिम बंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेस (टिएमसी)का तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि एक सय २२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।
सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन्। ‘कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,’ प्रहरीले जनाएको छ। त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन् तर भारतीय जनता पार्टी (भाजपा)ले भने उक्त आरोप अस्वीकार गरेको छ।

विधायक विश्वासको हत्याबारे अनुसन्धान गर्नका लागि एक उच्चस्तरीय जाँचबुझ कमिटी  गठन गरिएको बताइएको छ। घटना भएको क्षेत्रबाट केही पर एउटा घरेलु पेस्तोल भेटिएको र  सो पेस्तोल विधायक विश्वासका हत्यामा प्रयोग भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

पार्टीका प्रसिद्ध युवा नेताको हत्याले पार्टी पूर्ण रूपमा स्तब्ध भएको टिएमसीका महासचि पार्था चटर्जीले बताएका छन्।
‘विधायक विश्वासको हत्याबारे मसँग बोल्ने शब्द नै छैन। भर्खरै मात्र भारतीय जनता पार्टीका नेताहरुले पश्चिम बंगालमा तनाव सिर्जना गर्न खोजेका थिए। यो प्रसिद्ध नेता विश्वासलाई आफ्नो बाटोबाट हटाउने भाजपाको पूर्वयोजनासहितको कार्य हो। जनताले यसको उचित जबाफ दिने छन्। जसले पनि नेता विश्वासको हत्या गरेको हो, त्यसलाई छोडिन्न। नेता विश्वासको हत्यामा भाजपा जिम्मेवार छ,’ उनले बताए।
‘यो भाजपाले गरेको पूर्वतयारीसहितको हत्या हो। उनीहरुले हत्या गराउन भाडाका मानिस ल्याएका हुन्,’ नाइडा जिल्लाका टिएमसी इन्चार्ज अनुब्रत मोन्डाले आरोप लगाए।

पश्चिम बंगलका भाजपा अध्यक्ष दिलीप घोषले टिएमसीको आरोप अस्वीकार गरेका छन्। उनले सोही दलभित्रकै आन्तरिक कलहका कारण विधायक विश्वासको हत्या भएको हुनसक्ने बताएका छन्।‘भाजपामाथिको आरोप आधारहीन छ। भाजपा विधायक विश्वासको हत्यामा संलग्न छैन। जसले हामीलाई दोष लगाइरहेका छन्, वास्तवमा उनीहरु नै आफ्नो पाप लुकाउन खोजिरहेका छन्,’ घोषलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ। भाजपाका वरिष्ठ नेता मुकुल रोयले पनि आरोप आधारहीन भएको बताएका छन्।
विधायकको हत्याले राज्य पूर्ण रूपमा कानुनविहीन र अस्तव्यवस्त रहेको पुष्टि भएका कंग्रेसका पश्चिम बंगालका अध्यक्ष सोमेन मित्राले बताएका छन्।

प्रकाशित: २८ माघ २०७५ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App