१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभर आत्महत्याको दरमा कमी

पेरिस – सन् १९९० यता विश्वभर नै एक तिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ।

विश्वको स्वास्थ्यस्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ। डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ। बिएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब आठ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ। सन् १९९० को तुलनामा यो ६ दशमलव ७ प्रतिशतको वृद्धि हो।

विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दर १६.६ प्रतिशतबाट घटेर ११.२ प्रतिशत भएको छ। यो आत्महत्याबाट मृत्यु हुने प्रत्येक एकलाख मानिसबाट निकालिएको अनुपात हो। जनसंख्या वृद्धि र मृत्युको अनुपातको तथ्यांक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलव ७ प्रतिशतले कमी आएको छ। ‘आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,’ क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 
हेल्थ एन्ड मेट्रिक्स इभ्यालुएसन इन्स्ट्यिुटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिंगको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विष्लेषण गर्ने गरेको छ।

आत्महत्याका कारण हुने मृत्युका  समग्र घटनामा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ। 

साथै महिलाको तुलनामा पुरुषले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ। ‘पुरुषको मृत्युदर नै बढी देखिएको छ। उमेर र कतिपय सन्दर्भमा देशअनुसार यसमा विभिन्नता पाइन्छ,’ ओर्पानालाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। 
विश्वभर आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५.६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ। डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ। 
चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४.१ प्रतिशतले घटेको छ तर जिम्बाब्वेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको सो अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

प्रकाशित: २५ माघ २०७५ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App