५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प–किम सम्मेलन हुनेमा वासिङ्टन आशावादी

जापानको प्रधानमन्त्री कार्यालयमा शनिबार भेटवार्ता गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ (बायाँ) र जापानी प्रधानमन्त्री सिन्जो आबे। तस्बिर : एजेन्सी

टोकियो – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान पुगेका छन् । जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम रहेको छ। अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो।

टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पेओले भने, ‘मेरो एसिया भ्रमण लामो समयदेखि उत्तर कोरियासँग रहँदै आएको शत्रुतापूर्ण सम्बन्धलाई शान्तितर्फ अग्रसर गर्दै अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउन केन्द्रित रहनेछ ।’ ‘त्यसपछि हामी अर्को शिखर सम्मेलनको व्यवस्था गर्न गइरहेका छौं,’ उनले बताए । उनले भने, ‘मेरो भ्रमण आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्नका लागि महत्वपूर्ण हुनेछ ।’ ‘मलाई लाग्छ छलफल पहिलेभन्दा अगाडि बढ्नेछ,’ पोम्पेओलाई उद्धृत गर्दैै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ट्रम्प र किमबीच गत जुन १२ का दिन सिंगापुरमा भेटवार्ता भएको थियो।

यसअघि कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गरेका थिएनन् । मानव अधिकारवादी समूहको नजरमा उत्तर कोरिया विश्वकै सबैभन्दा बढी मानवअधिकारको उल्लङ्घन गर्ने मुलुक हो। पोम्पेओले शनिबारै टोकियोमा प्रधानमन्त्री सिन्जो आबे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गरेका छन् । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएको थियो जसका कारण जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो। जापानले प्योङयाङ नेतृत्वलाई कडा दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आबेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताएका छन्।

पोम्पेओ टोकियोबाट प्योङयाङ जाने र त्यसपछि दुवै देशको राय लिएर दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वाले हालै वासिङ्टन पोष्टलाई दिएको अन्तर्वार्तामा अमेरिका र उत्तर कोरियाको आगामी वार्ता के विषयमा केन्द्रित हुनेछ भन्ने संकेत गरेका थिए । उनले उत्तर कोरियाले आफ्नो प्रसिद्ध आणविकस्थल योङवायोनलाई नष्ट गर्न त तयार हुनेछ तर यसका लागि अमेरिकाले सन् १९५० देखि सन् १९५३ सम्म कोरियाली प्रायद्वीपमा चलेको युद्धको औपचारिक अन्त्य भएको घोषणा गर्नुपर्नेछ। उक्त युद्धको अन्त्य शान्ति सम्झौतामार्फत नभई युद्धविराम गर्ने सहमतिबाट अन्त्य भएको थियो तर पटक पटक युद्धविराम भंग हुँदा दुई कोरियाबीच तनाव उत्पन्न हुने गरेको छ। ‘हामी दुई पक्षबीच के गर्न खोजिएको छ सबैलाई जानकारी छ,’ पोम्पेओले वार्ताको खाकाबारे खुलासा नगरी बताए। पोम्पेओ दक्षिण कोरियाको राजधानी सोलबाट सोमबार चीनका लागि प्रस्थान गर्ने छन्।

चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ। तर पोम्पेओको बेइजिङ बसाइ भने सहज नहुने देखिएको छ। केही दिन पहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लंघनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुशी छैन।

प्रकाशित: २१ आश्विन २०७५ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App