८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्समा प्रजातन्त्र पुनर्स्थापनाकाे चर्चा

मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी भएका छन्। उनको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन्।

केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा थिए। त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व राष्ट्रपतिहरुलाई नै जेल हाल्ने तथा निर्वासनमा पठाउने गरेकाले प्रजातन्त्र प्राप्तिको आन्दोलन जारी रहेको बताइएको थियो।

मालदिभ्समा इब्राहिमको जितलाई भारतले आफ्नो समर्थकको विजयको रुपमा लिएको बताइएको छ। राष्ट्रपतिको सपथग्रहणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरिएको छ। उनले सहभागिताको बारेमा कुनै औपचारिक जानकारी नगराएपनि उनी उपस्थित हुने अपेक्षा गरिएको अधिकारीहरु बताउँछन्।

प्रजातन्त्र आफ्नै हातमा लिई शक्तिको केन्द्रका रुपमा शासन सञ्चालन गरिरहेको भनिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रुपमा पराजित भएका छन्। अनौपचारिक रुपमा सार्वजनिक भएको चुनावी मतपरिणामअनुसार इब्राहिम अग्रस्थानले विजय हासिल गरेका हुन्। यस निर्वाचन परिणामले सत्तामा पुगेपछि अब कहिले पनि निक्लिनु पर्दैन जस्तो ठान्ने विश्वका कैयौँ नेताहरुलाई नयाँ पाठ सिकाएको छ।

आफ्ना प्रमुख प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति मोहम्मद नसिद नै निर्वासनमा रहेको अवस्थामा पनि यामिनको यसप्रकारको हार हुनुलाई आश्चर्यजनक परिणामको रुपमा लिइएको छ। यहाँ केही वर्षयताका निर्वाचनहरुमा निकै विवादहरु बाहिर आउने गरेका थिए। विश्व समुदायले पनि आमनिर्वाचनको परिणाम घोषणा भएलगत्तै त्यसलाई मान्यता दिने कि नदिने भन्ने विवाद गर्ने गर्दथे। तर यस पटक भने जनताले चुनेको यो परिणामलाई विश्व समुदायले नै स्वीकार गरेको छ। उनीहरुले निर्वाचनको परिणामलाई निष्पक्ष रुपमा आएको भनेका छन्।

निर्वाचनको नतिजा चाडै सार्वजनिक गर्ने बताएको मालदिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय उम्मेदवारका रुपमा इब्राहिम विजयी भएको जानकारी अवगत गराएको छ। औपचारिक नतिजा सार्वजनिक गर्न ढिलाई नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका थिए। सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पिपिएम) ले विरोधको केही स्वरहरु उठाएको भएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला नहुने आयोगका अधिकारीहरुको भनाई छ।

मुलुकको निर्वाचन कानूनमा सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ। पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरिफले पनि पुष्टी गरेका छन्। ती टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने शरिफले स्पष्ट पारिसकेका छन्।

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने मालदिभ्समा छ वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ। हाल सत्तामा रहेका राष्ट्रपति अब्दुल्लाह यामिनले पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई जेलहाली शासन गरेपनि आखिरमा हारको सामना गर्नु परेको छ।

आफू पुनः सत्तामै रहन चाहेका यामिनबाट जनताको चाहनालाई सम्मान गर्दै सत्ताको शान्तिपूर्ण र सहज हस्तान्तरणका लागि नवनियुक्त राष्ट्रपति सोलिहले अपेक्षा व्यक्त गरेका छन्। तर यामिनले पनि आफ्नो हार भने स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।

पूर्व राष्ट्रपतिसमेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई पुनः लोकतान्त्रिक मार्गमा ल्याउने विश्वास व्यक्त गरेका छन्। पूर्व राष्ट्रपति नासिदले हार स्वीकार्नुबाहेक यामिनसँग अर्को विकल्प नरहेको प्रष्ट पारेका छन्। मोहमद नसीद हाल निर्वासनमा छन्। सन् २०१२ मा त्यहाँका पूर्व राष्ट्रपति नसिदलाई १३ वर्षको जेल सजाय सुनाइएपछि नै मालदिभ्समा विवाद सुरु भएको थियो। मालदिभ्सको एक फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्वराष्ट्रपति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको थियो।

पूर्वराष्ट्रपति नसिद सन् २००८ मा भएको निर्वाचनमा मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए। सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्रयाटिक पार्टीको तर्फबाट निर्वाचन जितेर नसीद पहिलो प्रजातान्त्रिक राष्ट्रपति बन्न सफल भएका थिए। सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न मालदिभ्समा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो। मानवअधिकारवादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसीद पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आएका थिए।

हालै सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेता जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेता चुनावी मैदानमा नै थिएनन्। यसैकारण पनि वर्तमान राष्ट्रपति अब्दुल्लाह यामीनको जित लगभग निश्चित मानिएको थियो। तर जनताले यस निश्चितालाई उल्टाइदिएका छन्। पछिल्लो समयमा सरकार र न्यायालयबीचको विवाद यहाँ चरम रुपमा देखिन्छ। गत वर्षमात्र पनि यही विवादले देशको शासनसत्ता नै उलटपुलट हुनेसम्मको रूप लिएको थियो।

साधारणतया आन्दोलन एवम् विरोध प्रदर्शन कमै हुने गरेको शान्तजस्तो देखिने राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो। प्रहरीले नै राष्ट्रपति नसिदविरुद्ध नै सन् २०१२ मा नारावाजी र बन्दुक प्रदर्शन गरे। त्यसपछि यहाँको राजनीतिक अस्थिरता शुरु भएको मानिन्छ। यसले ठूलो रक्तपात ल्याउने सङ्केत देखिएपछि राष्ट्रपति नसिदले सन् २०१२ को फेब्रुअरीमा राजीनामा दिएका थिए। त्यस बखत उनको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उनको दल, समर्थक एवम् विश्व समुदायले विश्लेषण गरेका थिए।

करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र मालदिभ्सको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो। हिन्द महासागरमा रहेको यो देश पर्यटकीय आकर्षक गन्तव्य हो। मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन्। मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो। करिब चार लाख ४६ हजार जनसङ्ख्या रहेको मालदिभ्समा एकलाख नागरिक त राजधानी मालेमा मात्र बस्छन्।

हालैको यो राष्ट्रपतीय निर्वाचनले यहाँको करिब सात वर्ष पुरानो राजनीतिक अस्थिरताको अन्त्य गरेको अनुमान गरिएको छ। गत वर्षमात्र पनि त्यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई जेल हालेर राष्ट्रपति यामिनले अर्काे विवादको शुरुआत गरेका थिए। तर त्यो स्थायी र शान्तिपूर्ण बाटो थिएन। इब्राहिम मोहमद सोलिह राष्ट्रपति पदमा विजयी भएसँगै यहाँ राजनीतिक स्थिरता शुरु भएको र पुनः प्रजातन्त्रको आगमन भएको अनुमान गरिएको छ। मोहिनी मिश्र रिसाल /रासस

प्रकाशित: १३ आश्विन २०७५ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App