१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

‘अमेरिकाले मध्यपूर्व शान्ति हुन दिँदैन’

इजरायली सेना र प्यालेस्टिनीबीच भएको झडप। फाइल तस्बिर : एजेन्सी

गाजा – अमेरिकाले मध्यपूर्व शान्ति स्थापना हुनै नदिने प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले साइब इरिकाटले बताएका छन्।

चाँडै नै हुन लागेको लामो समयदेखि प्रतिक्षारत इजरायल–प्यालेस्टाइन शान्ति वार्तामा अमेरिका सहभागी हुन इच्छुक नरहनुले पनि उसको नियत प्रष्ट भएको प्यालेस्टिनी अधिकारी इरिकाटले शनिबार बताएका छन्। उनले इजरायल–प्यालेस्टाइन शान्ति वार्ता गराउनुभन्दा पनि त्यसलाई भाँड्नेतर्फ अमेरिका लागिरहेको आरोपसमेत लगाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अमेरिकाले शान्ति वार्तामा हुने शर्तहरु एकतर्फी रूपमा परिवर्तन गर्न खोजिरहेको पनि उनले बताए। प्यालेस्टाइनका प्रमुख वार्ताकारसमेत रहेका इरिकाटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन दशकौं लामो युद्धको प्रमुख मुद्दाहरुमा इजरायलको पक्षमा लागिरहेको र त्यसले मध्यपूर्वको शान्तिप्रतिको चाहनालाई अन्त्य गरिरहेको बताए।

‘मलाई लाग्दैन उनीहरुले कुनै पनि दिन मध्यपूर्वलाई शान्ति दिलाउने खालको योजना सार्वजनिक गर्ने छन्,’ जेरिकोमा रोयटर्सलाई दिएको अन्तवार्तामा इरिकाटले बताए । ‘समग्र विश्वले नै उनीहरुको विचारलाई अस्वीकार गरिरहेका छन्। प्राथमिकताको शर्तलाई परिवर्तन गरेर उनीहरुले अहिले नै आफू अनुकूलको योजना लागू गरिरहेका छन्,’ उनले बताए।

डिसेम्बर महिनादेखि नै ट्रम्प प्रशासनको भूमिकाप्रति शंका उत्पन्न भएको प्यालेस्टाइनका वरिष्ठ अधिकारी इरिकाटले बताए। अमेरिकी राष्ट्रपति ट्रम्पले गत डिसेम्बर महिनामा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए। तेल अभिभमा रहेको अमेरिकी दूतावासलाई सारेर जेरुसेलममा राखिएको छ।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि जारी द्वन्द्वको प्रमुख मुद्दामा जेरुसेलम पनि पर्दछ। दुवै पक्षले जेरुसेलमलाई आफ्नो राजधानीका रूपमा दाबी गर्दै आएका छन् । जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले प्यालेस्टाइनका मानिसमा आक्रोश उत्पन्न भएको छ । जेरुसेलमलाई इजरायली राजधानीका मान्यता दिइएपछि अमेरिकी राष्ट्रपतिका ज्वाइँ जारेद कुसनरले नेतृत्व गरेको वासिङ्टन शान्ति प्रयास प्यालेस्टाइनले तोडेको छ।    

बढ्दो तनाबकै बीच अमेरिकाले पनि प्यालेस्टाइन र प्यालेस्टिनी शरणार्थीका लागि सञ्चालित संयुक्त राष्ट्रसंघीय एजेन्सी ‘युएनआरडब्लुए’लाई दिँदै आएको सहयोग रोकेको छ। वासिङ्टनमा रहेको पिएलओ कार्यालयलाई पनि अमेरिकाले बन्द गर्न निर्देशन दिइसकेको छ । यो कदमले प्यालेस्टाइनका नेताहरु थप आक्रोशित भएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने अमेरिकी कदमको स्वागत गरेका छन्।   

‘अमेरिकाले जेरुसेलम मात्रै नभई अन्य विवादित मुद्दामा पनि इजरायलको पक्ष लिएको छ,’  इरिकाटले बताए। अमेरिकाले लाखौं प्यालेस्टिनी शरणार्थीसहित अन्य महत्वपूर्ण विषयमा पनि इजरायली नजरले हेर्न थालेको उनलको आरोप रहेको छ। यद्यपि ट्रम्प प्रशासनका मध्यपूर्वी दूत जासन ग्रिनब्लाटले भने प्यालेस्टिनी अधिकारीले भने जस्तो नभएको र दुई पक्षले आफ्नो चित्त बुझेको र नबुझेको कुरा राख्ने बताए। उनले यस विषयमा थप विवरण भने नदिएको रोयटर्सले जनाएको छ । इजरायल–प्यालेस्टाइनबीच शान्तिवार्ताका लागि प्रयासरत ग्रिनबाल्टले प्यालेस्टिनी अधिकारीहरुले वार्ता बहिष्कार गरेको भए पनि अमेरिकी अधिकारीहरु उनीहरुलाई वार्ताको टेबलमा ल्याउने वातावरणको नजिक पुगेको दाबी गरेका छन् । यद्यपि त्यस्तो वार्ता कहिले हुन्छ भन्नेबारे भने उनले बताएनन्।

पूर्वी जेरुसेलम, गाजापट्टी र वेस्ट बैंकतर्फ प्यालेस्टिनीहरु राज्य स्थापना गर्न चाहन्छन् । ती भूभागहरु सन् १९६७ मा भएको मध्यपूर्वको युद्धमा इजरायलले कब्जा गरेका थियो। यद्यपि पूर्वी जेरुसेलमलाई गाभ्ने इजरायली कदमले अन्तर्राष्ट्रिय मान्यता भने पाएका छैन।

प्रकाशित: ३१ भाद्र २०७५ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App