६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

निपा भाइरसका कारण केरलामा १० को मृत्यु

निपा भाइरसबाट संक्रमित परिवारको इनारमा मरेका चमेरा भेटिएपछि त्यसलाई झुलले छोप्दै स्वास्थ्यकर्मी । तस्बिर :एजेन्सी

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य केरलामा फैलिएको घातक ‘निपा’ भाइरस संक्रमणका मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य अधिकारीले बताएका छन्।

निपा भाइरसले संक्रमित भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण भइरहेको भारतीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पूर्ववर्ती क्यालिकट र वर्तमानको काजिकोदेबाट फैलिएको निपा भाइरस परीक्षण गरिएका अन्य दुई जनामा पनि संक्रमण भेटिएको र उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेका बताइएको छ । अन्य ४० जनालाई पनि अत्यन्तै सुक्ष्म तरिकाले निरीक्षण भइरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

संक्रमितलाई बेग्लाबेग्लै उपचार गर्नका लागि केरलाका अस्पतालहरुमा विशेष वार्डहरु स्थापना गरिएको बताइएको छ । निपा भाइरस संक्रमणका कारण मानिसको ज्यान जान थालेपछि केरलाका स्वास्थ्य प्रशासनले उच्च सतर्कता अपनाएको छ । केरलाका विभिन्न क्षेत्रमा मेडिकल शिविर तथा अवस्थासँग जुँध्नका लागि कन्ट्रोल रूमकोसमेत स्थापना गरिएको छ । पशुबाट मानिसमा सर्ने एनआइभी भनिने निपा भाइरस निदान गर्नै अत्यन्त कठिन हुन्छ । ज्वरो आउने, बान्ता हुने र टाउको दुख्ने यस भाइरसको संक्रमणको लक्षण भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यो भाइरसबाट संक्रमित भएपछि ७० प्रतिशत मृत्यु हुने सम्भावना रहने र यसको निदानका लागि हालसम्म कुनै खोप नरहेको बताइएको छ ।विश्व स्वास्थ्य संगठनले विश्वका लागि चेतावनी हुनसक्ने भन्दै सूचीकृत गरेको १० वटा रोगमध्ये निपा पनि एक हो । निपा भाइरसबाट संक्रमित भए वा नभएको बारे पुष्टि गर्नका लागि शंकास्पद ६० जनाको रगत र शरीरबाट निस्कने तरल पदार्थ राज्यको राजधानी पुणेस्थित नेसनल इन्सिट्यिुट अफ भिरोलोजीमा पठाइएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

‘बाहिरबाट ल्याइएको फलफूल खानेबारे र अन्य सावधानीबारे विशेष निर्देशन दिनका लागि स्वास्थ्य कर्मचारी प्रत्येक घरमा पुगिरहेका छन्,’ कोजिकोदेका उच्च अधिकारी युभी जोसलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

निपा भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइने गर्दछ । प्रभावित परिवारको घरमा रहेको पानीको इनारमा मरेका चमेरा भेटिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । इनारलाई फ्लोरेसेन्ट नेटले राम्रोसँग बन्द गरिएको उनीहरुले बताएका छन् । भारतमा निपा भाइरसको संक्रमण पहिलो पटक सन् २००१ मा भेटिएको र त्यसको छ वर्षपछि पुनः भेटिएको विवरण बाहिरिएका छन् । पछिल्ला दुई पटक भारतमा ५० जनाको निपा भाइरसका कारण मृत्यु भएको बिबिसीले जनाएको छ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App