२५ असार २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलद्वारा इरानको आणविक केन्द्रमा आक्रमणपछि इरानको बदला: अस्पतालमाथि मिसाइल प्रहार !

इजरायलले इरानको आणविक कार्यक्रमको मुटु मानिने अराकस्थित हेभी वाटर रिएक्टरमा आक्रमण गरेपछि मध्यपूर्वको युद्ध उत्कर्षमा पुगेको छ।

यसको प्रतिशोधमा इरानले इजरायली शहर र अस्पताललाई निशाना बनाउँदै दर्जनौं मिसाइल प्रहार गर्दा सयौं मानिस घाइते भएका छन् भने पूरै क्षेत्र तनावग्रस्त बनेको छ।

इरानको मुख्य निशाना इजरायलको दक्षिणी शहर बीर्शेबामा रहेको सोरोका अस्पताल बन्यो। अस्पताल र वरपरका आवासीय क्षेत्रमा भएको भिषण मिसाइल हमलामा परी कम्तिमा १७६ जना घाइते भएका छन्। इजरायली आपतकालीन सेवाका अनुसार, घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, मिसाइलहरू खस्दा अस्पतालको भवनमा ठूलो क्षति पुगेको छ र उपचार कक्षहरूमा समेत असर परेको छ। अस्पताल प्रशासनले तत्कालका लागि नयाँ बिरामी भर्ना लिन नसकिने जनाउँदै सर्वसाधारणलाई अस्पताल क्षेत्रमा नआउन आग्रह गरेको छ। बीर्शेबाका साथै तेल अभिभ, रमत गण र होलोन जस्ता शहरहरूमा पनि इरानी मिसाइलहरू खसेका थिए।

इरानको यो अप्रत्याशित हमला इजरायलले गरेको आक्रमणको प्रतिक्रिया थियो। मंगलबार बिहानै इजरायली सेनाले इरानको अराक शहरमा रहेको हेभी वाटर रिएक्टरमाथि हमला गरेको थियो।

यो केन्द्र इरानको आणविक कार्यक्रमका लागि अत्यावश्यक मानिन्छ र यहाँ ठूलो मात्रामा हतियार उत्पादन हुने गरेको विश्वास गरिन्छ। आक्रमणपूर्व इजरायली सेनाले स्थानीयलाई सो क्षेत्र खाली गर्न चेतावनी दिएको थियो।

अस्पतालमाथिको हमलापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भर्त्सना गरेका छन्। उनले यसलाई ‘आपराधिक’ र ‘अमानवीय’ कार्यको संज्ञा दिँदै भने, “तेहरानमा बसेका ती अत्याचारी शासकहरूबाट हामी यसको पूरा मूल्य असुल गर्नेछौं।”

यता, इरानले भने आफ्नो निशाना अस्पताल नभएर त्यस नजिकै रहेको इजरायली सेनाको कमाण्ड मुख्यालय र खुफिया सैन्य शिविर रहेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले भनेको छ, “हाम्रो निशाना सैन्य संरचना थियो, अस्पताल विस्फोटको तरंगले मात्र प्रभावित भएको हो।”

यो द्वन्द्वमा हालसम्म इजरायलतर्फ २४ जनाको मृत्यु भएको छ भने वासिङ्टनस्थित एक मानव अधिकारवादी समूहले इरानमा मृतकको संख्या ६३९ पुगेको दाबी गरेको छ।

प्रकाशित: ५ असार २०८२ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App