मध्य म्यान्मारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताएका छन्।
शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो।
उक्त भवनको भग्नावशेषबाट ’नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको छ,' घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने।
उनले भने, '९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन्। हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौँ। हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौँ।'
भूकम्पका कारण म्यान्मारमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ। विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ।
यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा १७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ।
भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ तल्लामध्ये छ तला मात्र देखिएको छ।
भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउनका लागि आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ। स्थानीय स्तरमा उपलब्ध डोजर र स्काईभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन्। एजेन्सी
प्रकाशित: १६ चैत्र २०८१ १५:५६ शनिबार