म्यान्माको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि दुर्लभ अनुरोध गरेको छ। साथै जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ।
एएफपी पत्रकारहरूले जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई न्यापिडोको अस्पतालमा देखेका थिए। त्यहाँ ७.७ म्याग्निच्युडको भूकम्पपछि घाइतेहरूको उपचार गरिँदै थियो।
‘हामी अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म चाँडै मानवीय सहायता गर्नुपर्छ भन्ने चाहन्छौँ’, जुन्ता प्रवक्ता जा मिन टुनले अस्पतालमा भने।
हताहतको सङ्ख्या अझै बाहिर आउन बाँकी छ तर सैन्य सरकारले सहयोगका लागि अपिल गरिरहेको छ। यस्तो सहयोगको याचना सैन्य सरकारले प्राकृतिक प्रकोपपछि विरलै गर्छ। यसले क्षतिको स्तर ठूलो हुनसक्ने सङ्केत गर्छ।
जुन्ताले विज्ञप्तिमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये छ वटा: सागिङ, मन्दलाय, मगवे, उत्तरपूर्वी शान राज्य, न्यापिडो र बागोमा आपतकालीन अवस्था लागू भएको जनाएको छ।
मन्दलाय, न्यापिडो र सागिङका बिरामीहरूका लागि रक्तदान आवश्यक रहेको जा मिन टुनले उल्लेख गरे। एएफपी
प्रकाशित: १५ चैत्र २०८१ १६:०४ शुक्रबार