अमेरिकाको लस एन्जलसबाट चीनको सांघाईतर्फ युनाइटेड एयरलाइन्सको बोइङ-७८७ विमानले गत शनिबार (२२ मार्च) मा उडान भरेको थियो। तर, उडान सुरु भएको करिब दुई घण्टापछि पाइलटसँग राहदानी नभएको थाहा भयो र विमान अमेरिका फिर्ता भयो।
युनाइटेड एयरलाइन्सले यो घटनाको पुष्टि गरेको छ। सिएनएनका अनुसार विमानमा २५७ यात्रु र १३ चालक दलका सदस्य सवार थिए। स्थानीय समयअनुसार दिउँसो २ बजे लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उडान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ बजे अवतरण गरेको थियो।
युनाइटेड एयरलाइन्सले भनेको छ, ‘पाइलटसँग राहदानी थिएन, त्यसैले विमान सान फ्रान्सिस्कोमा अवतरण गरियो।’ नयाँ चालक दलको व्यवस्था गरेपछि विमान राति ९ बजे सान फ्रान्सिस्कोबाट पुनः उडान भरी सांघाई पुगेको थियो। तर यो निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो भयो।
यात्रु याङ शुहानले सिएनएनसँग कुरा गर्दै पाइलटले अन्तरसंवाद प्रणालीमार्फत, ‘मैले राहदानी बिर्सें’ भनेको सुनेको बताइन्। उनले सान फ्रान्सिस्कोमा ३० डलर बराबरको दुईवटा खाना भौचर प्राप्त गरिन्।
उनले भनिन्, ‘ढिलाइले मेरो काममा असर पर्यो, तर पाइलटको इमानदारी मन पर्यो।’ सामाजिक सञ्जालमा धेरै यात्रुले असन्तुष्टि व्यक्त गरेका छन्। एक यात्रुले लेखे, ‘यो पूर्ण रूपमा अस्वीकार्य छ, मेरा धेरै पूर्व निर्धारित योजनाहरू बिग्रिए।’
सांघाईबाट फर्कने उडान पनि यो घटनाका कारण ६ घण्टा ढिलो भएको थियो। उड्डयन विज्ञ शुकोर युसुफले यो घटनालाई लज्जास्पद र अनुशासनको कमी भनेका छन्। उनले भने, ‘यो गल्तीले एयरलाइन्सको विश्वसनीयतामाथि प्रश्न उठाउँछ।’ युनाइटेड एयरलाइन्सले यात्रुहरूलाई खाना भौचर र क्षतिपूर्ति प्रदान गरेको बताएको छ।
प्रकाशित: १३ चैत्र २०८१ १३:१८ बुधबार