१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धको नर्कमा बाँच्न संघर्ष, मृतक संख्या ४ सय नाघ्यो

गाजा सिटीको भग्नावशेषबीच एक व्यक्तिले आँसु झार्दै भत्किएको भवनबाट सानो बालकको शव निकाल्न संघर्ष गरिरहेका थिए।

स्पाइडरम्यानको स्वेटर लगाएको सो बालकको शरिर देखिए पनि निकाल्न नसकिने अवस्थामा थियो। उनका आफन्त र छिमेकीहरूले हतौडाले ठुटा फुटाउँदै बालकको शव निकाल्ने प्रयास गरे। तर सकेनन्।

‘सिभिल डिफेन्स टोलीले उद्धार गर्ने प्रयास गर्‍यो तर कसैलाई निकाल्न सकेन, त्यसपछि फर्कियो,’ सहयोगमा आएका छिमेकी मोहम्मद अल–देइरीले भने।

मंगलबार बिहान सबेरै इस्रायली सेनाले जनवरीको युद्धविरामपछि अहिलेसम्मकै ठूला हवाई आक्रमण गरेपछि गाजामा ४ सयभन्दा बढी मानिसको ज्यान गएको हमास सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इस्रायलले हमासले अझै बन्धक बनाएर राखेकाहरू नछोड्दासम्म आक्रमण जारी राख्ने घोषणा गरेको छ। अक्टोबर ७ मा हमासले इस्रायलमा आक्रमण गरेर अपहरण गरेका २५१ मध्ये ५८ जना अझै गाजामा छन्। जसमा ३४ जनालाई इस्रायली सेनाले मृत घोषणा गरिसकेको छ।

हमासले वार्ताका लागि तयार रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध रोक्न दबाब दिन आग्रह गरेको छ।

गाजा सिटीको अल–साबरा क्षेत्रमा भएको आक्रमणमा वरपरका भवनहरू पनि ध्वस्त भएका छन्। घरका तला भास्सिएर थिचिएका छन्।

२१ वर्षीया सुन्दुस अल–इमाम भन्छिन्, ‘जहाँतहीँ अनियन्त्रित बमबारी सुरु भयो। छिमेकी अल–हत्ताब परिवारको घरमा आक्रमण हुँदा हामीमध्ये केही घाइते भयौं।’

‘ट्रम्पको पालादेखि अमेरिकाले इस्रायललाई ठूलो मात्रामा सैनिक सहायता दिँदै आएको छ, जसले इस्रायल झन् शक्तिशाली बनाएको छ,’ उनले थपिन्।

ट्रम्प र इस्रायली प्रधानमन्त्री नेतान्याहुले बाँकी बन्धक नछोडे हमासलाई ‘नर्क’ देखाउने चेतावनी दिँदै आएका छन्।

मानविय दबाब बढाउन इस्रायलले मार्चको सुरुमा गाजामा राहत सामग्री प्रवेश रोक्यो र मुख्य पानी शुद्धीकरण केन्द्रको विद्युत आपूर्ति पनि काटिदियो। त्यसपछि स्थिति भयावह बनेको छ।

अल–साबराका राफत रमादानले भन्छन्, ‘मलबाबाट शवहरु झुन्डिरहेकका थिए, क्रेन बिना झिक्नै नसकिने अवस्था थियो।’ उनको घर पनि हवाई आक्रमणमा पर्‍यो। छोरीहरू माटोमुनि थिचिए। उनले आफन्तहरूको सहयोगमा छोरीहरू निकाल्न सके।

‘छोरीहरूलाई गाजा सिटीको बप्तिस्त अस्पताल लगे, तर अस्पताल नै भरिभराउ थियो,’ उनले भने, ‘हामीले भोगेको त नर्क थियो। युद्धमा छोरालाई गुमाएँ।’

झण्डै दुई महिना युद्धविराममा बसेका गाजालीहरू फेरि १५ महिनादेखिको युद्धकै भयमा फर्किएका छन्।

गाजाको मध्य भाग देइर अल–बाला स्थित अल–अक्सा अस्पतालको आँगनमा दर्जनौं पुरुषहरू सेतो प्लाष्टिकको शव झोलाछेउ शोकमा डुबेका थिए।

रमजानको प्रार्थना गरिरहेकै बेला राति गरिएको आक्रमणमा एउटै परिवारका चार सदस्यको मृत्यु भएको थियो। शव छेउ राखिएको पोस्टरमा लेखिएको थियो, ‘अल्लाहलाई सम्झिनुहोस्, आफन्तको लागि प्रार्थना गर्नुहोस्, तपाईंको मन शान्त हुनेछ।’

इस्रायली सेनाले गाजाको उत्तर किनारमा पर्ने बेत हानुन लगायतका क्षेत्र खाली गर्न निर्देशन दिएको छ। स्थानीयहरू फेरि एक पटक जीवन बाँच्न गाजा सिटीतर्फ हिँडिरहेका छन्। बालबालिकाले पानीका जेरिक्यान ताने, गधा गाडामा टाट, सिरक, भाँडाकुँडा बोकेर अगाडि बढिरहेका छन्।

करिब १८ महिना लामो युद्धपछि उनीहरू बेसार सामान मात्रै बोक्दै थिए। चारैतिर भत्किएका भवन, मलबाका थुप्रा र फोहोरको पहाडले घेरिएको थियो।

आकाशमा इस्रायली विमानको गर्जन र ड्रोनको गुन्गुनाहट बजिरहेको थियो....

हेर्नुहोस् थप तस्बिरहरु, सबै तस्बिर: एएफपी

प्रकाशित: ७ चैत्र २०८१ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App