९ वैशाख २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प-पुटिनबीच दुई घण्टा लामो वार्ता: ३० दिनको युद्धविराममा सहमति, युक्रेन सशंकित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा लामो टेलिफोन कुराकानी भएको छ। कुराकानीमा ३० दिनसम्म युक्रेनको ऊर्जा र पूर्वाधारमाथिको आक्रमण रोक्न सहमति भएको ह्वाइट हाउसले बताएको छ। यो सहमतिले शान्तिको प्रारम्भिक संकेत देखाए पनि युक्रेनले पूर्ण समर्थन गरेको छैन।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनले विदेशी सैन्य सहायता बन्द गर्नुपर्ने शर्त राखेका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘रूस युद्ध अन्त्य गर्न वा युद्धविरामका लागि तयार छैन। उनीहरूले यो युद्ध रोक्ने मनसाय नराखेको हामीले अमेरिकी सहकर्मीहरूलाई चेतावनी दिएका थियौँ, र यो स्पष्ट देखिन्छ।’ उनले थपे, ‘उनीहरू पहिलो चरणको युद्धविरामका लागि पनि तयार छैनन्।’

ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ बारे छलफल भइरहेको संकेत गरेपछि युरोपेली देशहरूमा चिन्ता बढेको छ। वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा यो संवाद ‘महत्वपूर्ण चरण’ मा पुगेको बताए, तर धेरै कुरा टुंगो लाग्न बाँकी रहेको उल्लेख गरे। पुटिनले भने आफ्नो सेना युक्रेनी भूमिमा अघि बढिरहेको र नेटो सेनालाई युक्रेनमा रोक्ने अडान दोहोर्‍याए।

जेलेन्स्कीले ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोकलाई ‘समर्थन’ गरे पनि प्रस्तावको विवरण र सहमतिको वास्तविकता जान्न चाहेका छन्। रूसी ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने विषयमा उनले अमेरिकी मध्यस्थतामा दुवै पक्षबीच सम्झौता सम्भव रहेको बताए। युक्रेनी कैदीहरूको फिर्तीका लागि उनले भने, ‘मस्कोले सबै कैदी फिर्ता गरेर युद्ध अन्त्यको इच्छा देखाउनुपर्छ। फिर्ता भएका कैदीलाई अग्रपंक्तिमा पठाइने छैन, उनीहरूलाई चिकित्सा र पुनर्वास चाहिन्छ।’ सैन्य सहायताबारे जेलेन्स्कीले भने, ‘पुटिनको अनुरोध भए पनि सहायता जारी रहनेछ। हाम्रा सहयोगीहरूले युक्रेनलाई कमजोर बनाउने कदम चाल्दैनन्।’ उनले ‘स्थिर र न्यायपूर्ण शान्ति’ ल्याउने प्रस्तावलाई समर्थन गर्ने बताए, तर ट्रम्पसँग थप जानकारी लिने आशा व्यक्त गरे।

ट्रम्पको ह्वाइट हाउस फिर्तीपछि युक्रेनप्रतिको अमेरिकी नीतिमा परिवर्तन आएको छ। गत महिना ट्रम्पले पुटिनसँग कुराकानीको घोषणाले पश्चिमी रणनीतिलाई प्रभावित गरेको थियो। उनका दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गरेर ३० दिने युद्धविराम योजना प्रस्तुत गरेका थिए। तर, वासिङ्टन र मस्कोबीच सम्बन्ध सुध्रिँदा युक्रेनसँगको सम्बन्ध जटिल बनेको छ। फेब्रुअरी २८ मा ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा भएको विवादपछि अमेरिकी सैन्य सहायता अस्थायी रूपमा रोकिएको थियो। पछि जेलेन्स्की युद्धविराम र खनिज भण्डारमा अमेरिकी पहुँचको सम्झौतामा सहमत भएका छन्। एजेन्सी 

प्रकाशित: ६ चैत्र २०८१ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App