२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

को हुन् मार्क कार्नी?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ। अनेक नाम आए पनि मार्क कार्नीको नाम शीर्ष चर्चामा छ।

बैंक अफ क्यानडाको आठौं गभर्नर बनेका उनले बैंक अफ इङ्ल्यान्डमा पनि सात वर्ष गभर्नरका रूपमा काम गरेका थिए। उनले सन् २००८ देखि २०१३ सम्म बैंक अफ क्यानाडाको गर्भनरका रूपमा काम गरेका थिए। त्यसपछि उनले बैंक अफ इङ्ग्ल्यान्डको १२०औं गभर्नरका रूपमा सन् २०१३ देखि २०२० सम्म काम गरेका थिए।

क्यानडाको नर्थवेस्ट टेरिटोरीको फोर्ट स्मिथमा सन् १९६५ मार्च १६ मा जन्मिएका उनले अल्बर्टास्थित सेन्ट फ्रान्सिस जेभियर हाइस्कुलमा अध्ययन गरेका हुन्। त्यसपछि उनले हार्वड विश्वविद्यालयमा अध्ययन गरे।

अक्सफोर्ड विश्वविद्यालयमा पनि अध्ययन गरेका उनले विद्यावारिधि भने नुफिल्ड कलेजबाट गरेका हुन्। उनले १३ वर्ष गोल्डम्यान साक्स बैंकमा अमेरिकाको बोस्टन, न्युयोर्क, टोक्यो, लन्डन हुँदै टोरन्टोको कार्यालमा बिताएका छन्। उनी संसारकै आर्थिक क्षेत्रका धुरन्धर ज्ञातामध्येका एक मानिन्छन्। उनलाई सन् २०२३ मा क्यानडेली लेबर पार्टीमा आबद्ध गराइएको थियो। उनको गभर्नर कार्यकालमा प्लास्टिकको नोट जारी गरिएको थियो। उनले बेलायतले ब्रेक्टिजका बेलामा युरो छाड्नु गल्ती हुने प्रक्षेपण गरेका थिए।

प्रधानमन्त्रीका लागि चर्चामा आउनुअघि कार्नीले ब्रुकफिल्ड एसेट म्यानेजमेन्टका अध्यक्षका रुपमा काम गरिरहेका थिए। २०२३ सम्म उनी ब्लुमबर्ग मिडियाको बोर्ड अध्यक्षसमेत थिए। टाइम म्यागेजिनले सन् २०१० मा संसारकै १०० प्रभावशालीमा उनको नाम राखेको थियो।

 सन् २०११ मा रिडर्स डाइजेस्टको क्यानडेली संस्करणले उनलाई क्यानडाकै सबैभन्दा विश्वासिला व्यक्ति भनी चयन गरेको थियो। यस्तै फाइनान्सियल टाइम्स दैनिकले उनलाई सन् २००८ को आर्थिक संकटबाट निकाल्ने र अघि बढाउने व्यक्तिका रूपमा चिनाएको थियो।

चार सन्तानका पिता कार्नीले एक पुस्तक लेखेका छन्। ‘भ्यालुजः बिल्डिङ अ बेटर वल्र्ड फर अल’ पुस्तकमा उनले बजारमुखीभन्दा पनि समुदायमुखी अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्।

संसारभर आय र अवसरमा असमानता बढ्दो छ। प्रणालीगत विभेद, विश्वव्यापी महामारीबाट स्वास्थ्य र आर्थिक संकट चुलिएको छ। समस्या त विशेषज्ञहरूको धारणामा अविश्वास गर्ने क्रम बढेको छ। जलवायु परिवर्तनले अस्तित्व नै खतरा हुने क्रम बढ्दै जान थालेको छ। यस्तोमा बजार अर्थतन्त्रभन्दा समाज अर्थतन्त्रमा ध्यान दिनुपर्ने जिकिर उनले पुस्तकमा गरेका छन्।

पुस्तकमा आना धारणाहरू राख्नु र वास्तवमै त्यसलाई कार्यान्वित गर्नु निकै अप्ठेरो छ। पछिल्लो समय क्यानडा आर्थिक सुस्तता झेलिरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिले क्यानडाकै अस्तित्वलाई लिएर ठट्टा गरिरहेका छन्। प्रधानमन्त्री भएमा कार्नीले क्यानडाको राजनीति र बिग्रँदाे आर्थिक सुस्ततालाई कसरी सन्तुलन गर्लान् सबैले चासोपूर्वक हेरिरहेका छन्।

प्रकाशित: २६ पुस २०८१ ०८:५७ शुक्रबार

# University of Oxford # Who is Mark Carney? # Inequality of income and opportunity