सामाजिक सञ्जालहरूमा क्रोध–प्रलोभनको व्यापार गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ। केही मानिस सामाजिक सञ्जालमा क्रोधजन्य सामग्री (अडियो, भिडियो तथा पोस्टहरू) राख्छन् र त्यसमा सहभागी भएका वा आएका विभिन्न टिप्पणीका कारणले पोस्ट गर्ने सर्जकको दालभात चल्ने गरेको छ।
त्यस्ता धेरै सर्जकमध्ये एक हुन्, विन्टा जेसु। उनले सामाजिक सञ्जालमा क्रोधजन्य विषयवस्तु राखेर गत वर्ष मात्र एक लाख ५० हजार डलर कमाइन्। २४ वर्षीया जेसु भन्छिन्, ‘म क्रोधको व्यापार गर्छु। म समाजमा कुनै पनि कुरालाई यति बढाइचढाइ पेश गर्छु कि मेरो मूर्खता देखेर मानिसहरू मलाई घृणा गर्छन्। मेराबारेमा जे पायो त्यही लेख्छन्। यही कारणले मेरो कन्टेन्ट भाइरल हुन पुग्छ र त्यही भाइरल भएका कारण मेरो आम्दानी बढिरहेको छ।’
जेसु सामाजिक सञ्जालमा आफूलाई सबैभन्दा सुन्दर युवती हुँ भनेर घोषणा गर्छिन्। अब यहाँबाट समस्या सुरु हुन्छ। उनलाई धेरैले सुझाव दिन्छन्, ‘नानी, तिमी त्यति धेरै सुन्दर पनि छैनौ ताकि सार्वजनिक मञ्चमा यसरी घोषणा गर्न सकियोस्।’
त्यसपछि जेसुले त्यो व्यक्तिको सुझावलाई भड्काउने अभिव्यक्ति दिन्छिन्। त्यसपछि त सारा मानिस जेसुविरुद्ध खनिन्छन्।
यसपछि उनको योजना पूरा हुन्छ। उनको त्यो कन्टेन्ट भाइरल हुन थाल्छ। यस्तो भाइरल कन्टेन्ट जसले पस्कन्छ, विभिन्न व्यक्ति तथा कम्पनीले तिनमा विज्ञापन गर्छन्। यही विज्ञापनका कारण जेसुजस्ता भाइरलहरूले पैसा कमाउँछन्। जेसु भन्छिन्, ‘वास्तवमा मान्छेमा रहेको घृणा जगाएबापत मैले पैसा कमाइरहेकी छु।’
यस्तो कन्टेन्टलाई इन्टरनेटको भाषामा ‘रेज–बेइट’ भनिन्छ। जेसु यस्ता ‘रेज–बेइट’ (क्रोध–प्रलोभन) समूहको हिस्सा हुन्। उनी र उनका समूहको एउटै उद्देश्य हुन्छः भिडियो बनाउनुहोस्, मिमहरू उत्पादन गर्नोस् र सर्वसाधारणमा क्रोध जगाउने टिप्पणी गर्नोस्। यसपछि हजारौं, लाखौं सेयर तथा लाइकमा रमाउनोस्। इन्टरनेटमा चल्तीको ‘क्लिक बेट’भन्दा यो अलि फरक शैलीको कन्टेन्ट सिर्जना हो, जहाँ एउटा शीर्षकले पाठकलाई भिडियो वा लेखमा ‘क्लिक’ गर्न प्रोत्साहित गर्छ।
अर्थात् ‘रेज–बेइट’ (क्रोध–प्रलोभन)को जहाँ एक शीर्षकले पाठकलाई भिडियो वा लेखमा क्लिक गर्न प्रोत्साहित गर्ने काम गर्छ।
अचेल सामाजिक सञ्जालमा हुकरले काम गर्न छाडेको छ। खासगरी बुद्धिमान पाठकले हुकरलाई सहजै पन्छाउँछन् तर ‘रेज–बेइट’मा मान्छे पूरै सहभागी भइहाल्छ। घृणा नै ओकल्न थाल्छ।
खासगरी मानिसको नकारात्मक मनोविज्ञानमा आधारित भएर यस्तो क्रोध–प्रलोभनयुक्त सामग्री बनाइएको मनोवैज्ञानिक डा. विलियम ब्रेडीको भनाइ छ, ‘हामी पूर्वाग्रही छौं, यो पूर्वाग्रह हामीसँग जन्मदै आएको हुन्छ, त्यसैलाई इन्टरनेटका धूर्तहरूले प्रयोग गरिरहेका छन्।’
क्रोध–प्रलोभनयुक्त सामग्रीका सर्जकहरूसँग मानिसह– बढी झुत्ती खेल्ने भएकाले अन्यको तुलनामा यिनले बढी रकम कमाउने गर्छन्। यस्ता सर्जकको सामग्री जति बढी लाइक, कमेन्ट वा सेयर गरियो, उत्ति बढी पैसा पाउने सम्झौता गरिएको हुन्छ। यसका लागि प्रायोजकले आफ्ना सामग्रीमा छेडछाड गर्न सर्जकलाई पूरै स्वीकृति दिइएको हुन्छ।
कुनै पोस्टमा एउटा बिरालो छ, तल तपाईंले ‘कति प्यारो !’ भनी टिप्पणी गर्नुहुन्छ तर अलि तल कसैले त्यही बिरालोका बारेमा यो त ‘कति घटिया’ भनेको देख्नुभयो भने तपाईं उसँग त्यहाँ झुत्ती खेल्न थाल्नुहुन्छ। जब कसैले अर्काको कन्टेन्टमा झुत्ती खेलेको देख्छ, सामाजिक सञ्जालले यो त गज्जबको सामग्री रहेछ भनेर धेरैभन्दा धेरै व्यक्तिमाझ पुर्याइदिन्छ। त्यतिञ्जेल सामाजिक सञ्जालमा राम्रो र नराम्रोका बीचमा विश्वयुद्ध मच्चिइसकेको हुन्छ।
त्यो विश्वयुद्धमा सामग्री सर्जकले राम्रै कमाइसकेको हुन्छ। यसबाट उत्प्रेरित भएर उसले अर्को नकारात्मक सामग्री बनाउन थाल्छ। त्यो सामग्रीले मानिसलाई रिस उठाउँछ। त्यही रिसको आवेगमा उसले हुनेनहुने लेखिरहेको हुन्छ, यसैले त्यस्तो सामग्री भाइरल बनाउन सहयोग गरिरहेको हुन्छ।
‘क्रोध–प्रलोभन’मा प्रायः हाम्रो दैनिक जीवनका मनपर्ने चिजहरू नै प्रयोग गरिएका हुन्छन् तर सेलिब्रिटीहरूसम्बद्ध क्रोधयुक्त सामग्री सबैभन्दा लोकप्रिय हुन्छन्। पछिल्लो समय अमेरिकी चुनावमा यसले निकै ठूलो महत्त्व पाएको थियो। अमेरिकी चुनावताका कुनै खास राजनीतिक समूहलाई मतदानका लागि प्रेरित गर्न क्रोध–प्रलोभनयुक्त सामग्री राखिएको डा. ब्रेडीको अध्ययनले देखाएको छ। उनी भन्छन्, ‘मतदानका लागि उक्साउने यस्ता सामग्री यस पटक निकै प्रयोग भएको देखिएको थियो।’
त्यो बेला ट्रम्प ‘टेरिबल’ छ र ह्यारिस ‘हरिबल’ छे जस्ता सामग्री अत्यधिक प्रयोग गरिएको थियो। बिबिसीको सामाजिक मिडिया अनुसन्धान संवाददाता मारियाना स्प्रिङको एउटा अनुसन्धानले एक्समा केही प्रयोगकर्ताहरूलाई सामाजिक मिडिया साइटले हजारौं डलर तिर्ने गरेको पत्ता लगायो। यस्तो रकम तिनलाई तिरिएको थियो, जसले गलत सूचना, एआईद्वारा उत्पादन गरिएका चित्र, तस्बिर अनि आधारहीन षडयन्त्रका सिद्धान्तहरू समावेश गर्ने सामग्री सेयर गरिरहेका थिए।
धेरै नकारात्मक सामग्रीले साधारण व्यक्तिलाई ‘स्विचिङ अफ’ गराउन सक्छ भन्नेमा चिन्ता व्यक्त गरेका छन्। उच्च घृणाका कन्टेन्टले सर्वसाधारणलाई थकाउने गर्छ। यस्ता कन्टेन्टले मानिसलाई समाचारमाथि नै क्रोध जगाउने गर्छ र वास्तविक समाचारबाट उनीहरू टाढिन थाल्छन्।
क्रोध–प्रलोभन फैलाउने जिम्मा केही सीमित व्यक्तिले पाएका हुन्छन् तर अल्गोरिदमले यस्तो भान पारिदिन्छ कि बहुसंख्यक मानिस यसैमा लागिरहेका छन्। त्यसैले पछिल्लो समय फेसबुकले यसमा नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। विश्लेषकहरूले यो प्रयास पर्याप्त नभएको चिन्ता व्यक्त गरिरहेका छन्। फेसबुक र युट्युबले क्रोध–प्रलोभनयुक्त सामग्री तत्काल हटाउने मात्र नभई तिनले पैसा नकमाउने (डिमनिटाइजेसन) गरिदिन्छ तर एक्समा भने त्यस्तो गरिएको छैन।
अहिले पनि तपाईं जुनसुकै बेला क्रोध–प्रलोभनको शिकार हुनसक्नु हुन्छ। त्यसैले सचेत हुनेबाहेक अरू उपाय छैन।
प्रकाशित: ३० मंसिर २०८१ १०:०८ आइतबार





