नेपालको पश्चिमी सिमानासँग जोडिएको भारतको उत्तराखण्डमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुख व्यक्त गरेका छन् । ‘उत्तराखण्डको अलमोडामा भएको भीषण सडक दुर्घटनाबारे समाचार सुन्दा दुख लागेको छ’, मुख्यमन्त्री धामीले भने,‘यो दुर्घटनामा कैयौँ व्यक्तिले ज्यान गुमाउनु परेको छ । मृतकका परिवारप्रति म समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उत्तराखण्ड सरकारले मृतक परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइते परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ ।
प्रकाशित: १९ कार्तिक २०८१ १८:२१ सोमबार