४ कार्तिक २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

भारतीय एयरलाइन्सहरूमा बम विस्फोट गराउने चेतावनीले अराजकता बढाउन थालेको छ।

जसका कराण एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतवार बताएका छन्।

सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ।

भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले ‘अत्यन्त कडा कारबाही’ गरिने चेतावनी दिएका छन्। नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज १८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा धेरै झुटो धम्की दिइएको बताएका छन्।

शनिवार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो। उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तािलका र लागतमा धेरै परेको छ। भारतमा कम्तीमा एक जना नाबालक पक्राउ परेका छन्। यद्यपि धम्कीहरू जारी छन्।

शुक्रवार र शनिवार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ। यसमा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डका समेत गरी भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए।

इन्डियन एक्सप्रेसका अनुसार निलम्बित खाताबाट पठाइएका समान सन्देशहरूमा लेखिएको थियो, ‘बोर्डमा बमहरू राखिएका छन्... कोही पनि जीवित बाँच्ने छैन। हतार गर्नुहोस् र विमान खाली गर्नुहोस्।’

हालै प्रभावित उडानहरूमध्ये शनिवार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए।

प्रभावित अन्य उडानहरूमा नयाँदिल्लीबाट शिकागो जाने एयर इन्डिया विमान थियो। उक्त विमान मङ्गलवार क्यानाडाको सुदूर उत्तरी शहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो। क्यानाडाको वायुसेनाले यात्रुहरूलाई उडान गराउनुपरेको थियो।

सोही दिन सिङ्गापुरले एयर इन्डिया एक्सप्रेस विमानलाई एस्कर्ट गर्न लडाकू जेटहरू खटाएको थियो। बिहीवार विमानविरुद्ध धम्की दिइएपछि बेलायती आरएएफ लडाकू जेटहरूले एयर इन्डिया बोइङ ७७७–३०० लाई एस्कर्ट गरेपछि लन्डनमा सुरक्षित अवतरण भएको थियो। शुक्रवार नयाँदिल्लीबाट लन्डन जाने भिस्तारा उडान जर्मनीको फ्रेङ्कफर्टमा मोड्नु परेको थियो। रासस

प्रकाशित: ४ कार्तिक २०८१ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App