५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन्।

काठमाडाैं उपत्यका ट्राफिक कार्यालयमा आइतबार आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताए।

“कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”, गृहमन्त्री लेखकले भने।

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उनले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पारे।

गृहमन्त्री लेखकले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताए।

यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उनले भने, “आजदेखि प्रारम्भ भएको छ, अब कार्यान्वयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस्।”

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।

प्रकाशित: ४ कार्तिक २०८१ १८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App