९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा के हाेला गुगलकाे भविष्य?

अनलाइनको दुनियाँमा गुगलको वर्चस्व छ। गुगलमा हरेक दिन करोडौं प्रश्न सोधिन्छन्। गुगल विश्वका ठुला कम्पनीमध्ये एक बनेको छ।

सुरुमा गुगलले आफू निर्दिष्ट सिद्धान्त र तदनुरूप काम गर्ने दाबी गथ्र्याे। तर यसै वर्ष एक अमेरिकी अदालतले गुगल कम्पनीले बजारमा आफ्नो विशाल उपस्थितिको अनुचित फाइदा उठाउँदै आएको र यसका कारण अन्य कम्पनीहरू बाँच्न असम्भव भएको जनाएको छ।

अमेरिकी अदालतका न्यायाधीशले छिट्टै फैसला सुनाउने तयारी गरेका छन्। अदालतले गुगललाई कस्तो सजाय सुनाउने छ भन्ने कौतूहलको विषय बनेको छ। गुगल यति ठुलो र शक्तिशाली कम्पनी भएको छ कि यसलाई नियन्त्रण गर्न धेरै गाह्रो छ भन्ने कतिपयको धारणा छ।

गुगलका गोप्य कुरा

इन्टरनेटको दुनियाँमा गुगल यति धेरै फैलिएको छ कि अब गुगलभन्दा पहिले इन्टरनेटमा गरिने खोजी (सर्च) कस्तो थियो भनेर कल्पना गर्न पनि कठिन बनेको छ।

पुलित्जर पुरस्कार विजेता पत्रकार डेभिड वाइजले स्थापनादेखि नै गुगल फस्टाउँदै गएको देखेका छन्। गुगलको इतिहासमा आधारित पुस्तक ‘गुगल स्टोरी’का लेखकसमेत रहेका वाइजका अनुसार  स्ट्यानफोर्ड विश्वविद्यालयका दुई पिएचडी विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिन इन्टरनेट खोजको गुणस्तरबाट सन्तुष्ट थिएनन् र त्यही कारणले उनीहरूले गुगल सर्च इन्जिन बनाएका हुन्।

वाइजका अनुसार सन् १९९० को दशकको अन्त्यमा याहु खोज र अल्टाभिस्टा खोज गुगलभन्दा पहिले सुरु भइसकेका थिए। तर तिनीहरूबाट खोज परिणामहरू पाउन धेरै समय लाग्ने र यसो गर्दा विज्ञापनसमेत समावेश हुन्थे। यसले प्रयोगकर्तालाई विज्ञापन र खोजको परिणाम छुट्याउन गाह्रो हुन्थ्यो। त्यसपछि यी दुई विद्यार्थीले मिलेर गुगल सर्च इन्जिन बनाएर इन्टरनेट सर्चलाई छिटो र भरपर्दो बनाएका हुन्।

यो क्रममा उनीहरूले इन्टरनेटमा उपलब्ध वेब पृष्ठहरूलाई तिनीहरूको महत्त्व र सान्दर्भिकताअनुसार वर्गीकरण गरेका थिए, जो यसअघि कसैले गरेको थिएन। उनीहरूको उद्देश्य कुनै कम्पनी खोल्ने वा व्यापार गर्ने नभई इन्टरनेटमा खोजी सुधार गर्ने मात्र थियो।

पत्रकार वाइजका अनुसार उनीहरू स्ट्यानफोर्ड युनिभर्सिटीलाई यो सर्च इन्जिन बेचेर पिएचडी पूरा गर्न चाहन्थे तर कसैले किन्न चाहेन। सबैले त्यतिबेला खोजीको कुनै महत्त्व नरहेको बताएका थिए।

याहु र डिजिटल इक्विपमेन्टले उनीहरूको खोज इन्जिन किन्न अस्वीकार गरेका थिए। पाँच लाख डलरमा पनि किन्न कोही तयार भएनन्। न त कोही यो प्रविधिको थप विकासमा लगानी गर्न इच्छुक नै थिए।

जब सन–माइक्रोसिस्टमका संस्थापक एन्डी बेक्टेलसाइनले गुगल सर्च इन्जिन चलाए, उनी यसबाट निकै प्रभावित भए। उनले पेज र ब्रिनलाई एक लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरे।

डेभिड वाइजका अनुसार यो रकम व्यवसायका लागि पर्याप्त थिएन। त्यसैले पेज र ब्रिन थप लगानीका लागि सिलिकन भ्याली पुगेका थिए। उनीहरूको प्रयासअनुसार क्लाइनर पर्किन्स र सुके क्यापिटल कम्पनीले एकएक करोड डलर लगानी गरे।

 सँगसँगै अब यो व्यवसाय चलाउन पेज र ब्रिनलाई विज्ञापन पनि आवश्यकता पर्दै गयो। तर उनीहरू सुरुदेखि नै विज्ञापनको विपक्षमा थिए। विद्यार्थी कालमा पेज र ब्रिन विज्ञापनलाई धेरै खराब ठान्थे र गुगल सर्च इन्जिनमा विज्ञापन समावेश गर्न चाहँदैनथे। तर विज्ञापनबिना व्यवसायलाई अगाडि बढाउने उनीहरूसँग अन्य योजना पनि थिएन।

समयक्रमसँगै इजरायली उद्योगपति योसी बार्डले उनीहरूलाई गुगल पेजमा एउटा निलो रेखा कोर्न भने। जसको एकातिर खोज परिणाम र अर्कोतर्फ विज्ञापन हुने सल्लाह उनले दिए। यसबाट सर्वसाधारणले नतिजा र विज्ञापनमा सजिलै फरक पाउन सक्ने उनको सुझाव थियो।

त्यसपछि यही विधि अवलम्बन गरियो। गुगल सर्च इन्जिन ठुलो उद्योगमा परिणत हुन थाल्यो र अर्बौं डलर कमाइ हुन थाल्यो। विज्ञापन कम्पनीहरूले पनि आफ्नो विज्ञापन कसले हेर्दै छन् र तिनीहरूमध्ये कतिले आफ्नो उत्पादन किनिरहेका छन् भन्नेसमेत थाहा पाउन सक्ने बनाइयो।

अहिले गुगल कम्पनीले विज्ञापनबाट वार्षिक दुई सय बिलियन अमेरिकी डलर कमाउँछ। पत्रकार वाइजका अनुसार सुरुवाती अवस्थामा उनीहरूले इमानदारी र नैतिकताका साथ व्यापार गर्न चाहेका थिए र यसको उद्देश्य जनतालाई सबै जानकारी उपलब्ध गराउनु थियो। तर जब कम्पनी बढ्दै गयो, नैतिक सिद्धान्तहरूमा अडिग रहन मुस्किल हुँदै गयो।

विश्वास र शासन

स्ट्यानफोर्ड ल स्कुलका प्रोफेसर र एन्टिट्रस्ट कानुनका विशेषज्ञ डगलस मेलामेडका अनुसार गुगलले आफ्नो खोज इन्जिनलाई उत्कृष्ट स्थापित गरेको छ तर यसले धेरै यस्ता कदम चालेको छ, जसले प्रतिस्पर्धी कम्पनीहरूका खोज इन्जिनहरूलाई गुगलसँग प्रतिस्पर्धा गर्न गाह्रो बनाएको छ।

मेलामेडको विचारमा बजारमा बिक्री हुने धेरै मोबाइल फोन र ट्याब्लेटमा गुगल सर्च इन्जिन पहिले नै इन्स्टल गरिएको हुन्छ र त्यसका लागि अर्बाैं डलर उपलब्ध गराइएको हुन्छ। यही कारणले इन्टरनेटमा केही खोज्दा त्यो सर्च गुगलमा पुग्छ, माइक्रोसफ्टको खोज इन्जिन विङलगायत अन्य विकल्पमा यो पुग्दैन।

एप्पलले गुगल सर्च इन्जिन राम्रो उत्पादन भएको बताउँदै आएको छ। गुगलले पनि  मानिसले चाहेमा आइफोनको ब्राउजरमा गएर अन्य कुनै पनि सर्च इन्जिनलाई डिफल्ट सर्च इन्जिन बनाउन सक्ने तर्क गर्दै आएको छ।

 गुगलविरुद्धको मुद्दा यतिमा मात्रै सीमित छैन। अमेरिकी न्याय मन्त्रालयले गुगलले विज्ञापन बजारलाई अनुचित रूपमा नियन्त्रण गरिरहेको भन्दै मुद्दा दायर गरेको छ। मुद्दाको सुनुवाइ भर्जिनियाको एक अदालतमा छिट्टै सुरु हुँदै छ।

विज्ञापन बजारलाई आफ्नो सर्च इन्जिनसँग जोडेर गुगलले अन्य विज्ञापन प्लेटफर्मका लागि अवरोध खडा गरेको मेलामेड बताउँछन्। यस विषयमा अदालतले गर्ने निर्णयले विज्ञापन बजारमा ठुलो परिवर्तन ल्याउन सक्छ। यसैगरी नयाँ विज्ञापन प्लेटफर्महरूले आफूलाई स्थापित गर्न ठाउँ पाउने र उनीहरूलाई पनि फाइदा हुने आकलन छ।

सूचनाको एकाधिकार

क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको सेन्टर फर ह्युमन कम्प्याटिबल एआईका वरिष्ठ वैज्ञानिक जोनाथन स्ट्रे प्रयोगकर्ताले गर्ने खोज इन्जिनको प्रयोगबाट गुगलले निरन्तर सिक्ने गरेको बताउँछन्।

गुगलले खोजिएका पृष्ठहरूबारे अन्य व्यक्तिले के भनिरहेका छन् र ती पृष्ठहरूबारे प्रयोगकर्ताको प्रतिक्रिया के छ भनेर हेर्छ। गुगलले प्रायः प्रयोगकर्ताको प्रोफाइलअनुसार खोज परिणाम दिन्छ। ‘गुगललाई थाहा छ, तपाईं को हुनुहुन्छ र तपाईं कहाँ बस्नुहुन्छ’, स्ट्रे भन्छन्। उनी गुगलले हरेक खोजको रेकर्ड राख्ने बताउँछन्।

केही कम्पनीहरू वा पृष्ठ निर्माताहरूबाट पैसा लिएर त्यसको बदलामा गुगलले खोज परिणामहरूमा उनीहरूको पृष्ठहरू उच्च स्थानमा राख्ने गरेको कतिपयको आरोप छ। अधिकांश कम्पनीले प्रयोगकर्ता र ग्राहकको हितलाई ध्यानमा राखेर सामाजिक उत्तरदायित्वका साथ काम गर्नु महत्त्वपूर्ण हुनेमा आर्थिक स्वार्थलाई प्राथमिकता दिने गरेको धारणा स्ट्रेको छ।

गुगलको भविष्य

युरोपेली संघले पनि गुगललाई यसअघि नै चुनौती दिएको सन्दर्भमा अब अमेरिकी अदालतले गुगलविरुद्धको मुद्दामा दिने निर्णय महत्त्वपूर्ण हुने देखिएको आर्थिक र व्यापारिक प्रतिस्पर्धाका मामिलाका विशेषज्ञ क्रिस्टिना काफारा बताउँछिन्।

 ‘यदि अमेरिकी अदालतले नै अमेरिकी कम्पनीको रूपमा संसारभरि चिनिने राम्रो कम्पनीले गलत तरिकाले काम गरिरहेको निर्णय गरेमा यो निर्णयको महत्त्व झनै बढ्नेछ,’ उनी भन्छिन्। गुगलले सर्च इन्जिन बजार र एड टेक्नोलोजी अर्थात् विज्ञापनसँग सम्बन्धित प्रविधिमा अत्यन्त बलियो स्थान बनाएको र यसलाई हल्लाउन सजिलो नभएको पनि उनी ठान्छिन्।

भर्जिनियामा गुगलविरुद्ध सुनुवाइ हुन लागेको मुद्दा गुगलको विज्ञापन प्रविधिसँग सम्बन्धित छ। कैयन् वर्षदेखि इन्टरनेट सर्चमा गुगलको बजार हिस्सा युरोपमा ९८ प्रतिशत र अमेरिकामा ९३ प्रतिशत रहेको काफारा बताउँछिन्।

यसैगरी गुगललाई कसले प्रतिस्थापन गर्ने भन्ने अर्काे प्रश्न रहेको चर्चा गर्दै उनी विज्ञापन प्रविधि र विज्ञापन प्रकाशन कम्पनीहरू धेरै हदसम्म गुगलमा निर्भर रहेको बताउँछिन्।

गुगलले आफ्ना विज्ञापनदाताले धेरै प्लेटफर्ममा विज्ञापन प्रकाशित गर्ने र उनीहरू गुगलको प्रविधि प्रयोग गर्न बाध्य नभएको बताएको छ।

तर विज्ञापन प्रकाशनसँग सम्बन्धित प्रविधिमा गुगलको प्रभुत्त्व छ। काफारा यसका लागि सरकारहरूलाई जिम्मेवार ठान्छिन्। ‘हामीले नै यी प्रविधिगत कम्पनीहरूलाई प्रभुत्त्व स्थापित गर्न अनुमति दिएका छौं।

यो विश्व राजनीतिको हिस्सा हो। अब तिनीहरूलाई नियन्त्रण गर्न गाह्रो छ। जब यी कम्पनीहरूले अन्य कम्पनीहरू खरिद गरेर एकाधिकार प्राप्त गर्ने हैसियत राख्छन्, तब तिनीहरूलाई नियन्त्रणमा राख्न लगभग असम्भव हुन्छ’, उनको विचार छ।

गुगल कम्पनीले यसलाई अस्वीकार गर्दै आफ्ना प्रतिस्पर्धीहरूबाट आफूले कडा प्रतिस्पर्धाको सामना गरिरहेको बताएको छ। अमेरिकी अदालतले गुगलको सर्च इन्जिन अन्य इन्जिनभन्दा राम्रो रहेको बताएको प्रसंग उद्धृत गर्दै गुगलका अन्तर्राष्ट्रिय मामिलाका अध्यक्ष केन्ट वाकरले कम्पनीले अदालतको निर्णयलाई चुनौती दिने बताएका छन्।

प्रकाशित: १८ आश्विन २०८१ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App