१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय चिकित्सकहरूद्वारा सहकर्मीको बलात्कार र हत्याविरुद्ध पुनः आन्दोलन सुरु

अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको भन्दै कोलकाताका भारतीय चिकित्सकहरूले पुनः आन्दोलन सुरु गरेका छन्।

पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको बलात्कार र रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्याप्रति पुनः राष्ट्रव्यापी आक्रोश बढेको थियो।

गत महिना चिकित्सकहरू छोटो समयका लागि आकस्मिक विभागमा सीमित काममा फर्केका थिए तर युनियनको बैठकमा उनीहरूले पुनः काम बन्द गर्ने निर्णय गरेका छन्।

युनियनका प्रवक्ता अनिकेत महतोले पश्चिम बङ्गाल सरकारले अस्पतालहरूमा प्रकाशको व्यवस्था, सिसिटिभी क्यामेरा र अन्य सुरक्षा उपायहरू सुधार गर्ने आफ्नो वाचा पूरा गर्न असफल भएको बताए।

महतोका अनुसार सरकारलाई आफ्नो वाचा पूरा गर्न जोड दिन र हत्या गरिएकी आफ्नो सहकर्मीका लागि न्यायको माग गर्न चिकित्सकहरू मङ्गलवार रातिदेखि सडकमा फर्केका छन्।

अगस्टमा भएको आक्रमणपछि दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूको आक्रोश महिला चिकित्सकहरूका लागि भयरहित काम गर्न दिने उपायहरूको कमीप्रति केन्द्रीत थियो।

हत्यामा एकजनालाई पक्राउ गरिएको छ। तर, पश्चिम बङ्गाल सरकारले अनुसन्धानको व्यवस्थापनका लागि सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ। अधिकारीहरूले कोलकाताका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

भारतको सर्वोच्च अदालतले हत्याको क्रुरताले ‘राष्ट्रको विवेकलाई झस्काएको’ भन्दै गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ बनाउने भन्नेबारे जाँच गर्न राष्ट्रिय कार्यदल गठन गर्न आदेश दिएको थियो।

कोलकातामा भएको आक्रमणको भयावह प्रकृतिलाई सन् २०१२ मा दिल्लीको एउटा बसमा एक युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको थियो। दिल्लीमा भएको उक्त घटनापछि हप्तौँसम्म राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो। रासस

प्रकाशित: १६ आश्विन २०८१ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App