इजरायल र हिजबुल्लाहबीच युद्धको खतरा बढेपछि भारत र बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएको छ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमाथि आक्रमण तीव्र बनाए पछि बेलायती प्रधानमन्त्री किएर स्टार्मरले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेका हुन्।
प्रधानमन्त्री स्टार्मरले बढ्दो आक्रमणको स्थितिलाई ध्यानमा राखेर आवश्यक तयारी गरिरहेको भन्दै ७ सय सेनालाई लेबनानमा रहेका आफ्ना नागरिकको उद्धारका लागि पठाउन लागेको बताए।
बेलायत सरकारका अनुसार हाल १० हजार बेलायती नागरिक लेबनानमा बसोबास गरिरहेका छन्।
यसैबीच, भारतले पनि लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ भने लेबनानको यात्रा नगर्न पनि आग्रह गरेको छ।
यसअघि, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, सऊदी अरब, साउथ कोरिया र अमेरिकासहित विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकलाई लेबनाना छाड्न भनिसकेको छ।
प्रकाशित: १० आश्विन २०८१ ०८:०७ बिहीबार