७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ

श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित मार्क्सवादी नेता अनुरा कुमार दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

शनिबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विपक्षी नेता सजिथ प्रेमदासा, निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे लगायत ३६ उमेदवारलाई पराजित गरेका थिए।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो। पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत र उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रो चरणको मतगणनाबाट दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ गरेको हो।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो। पहिलो चरणमा कसैको बहुमत नपुगेपछि दोस्रो चरणको मतगणना गर्नुपरेको हो।

राष्ट्रपतिमा निर्वाचित दिसानायकेले आफूलाई मजदुरको नेता बताउँदै आएका छन्। चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कडा कदम चाल्ने र सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता गरेका थिए।

उनले आफ्नो विजय सिंहली, तमिल, मुस्लिमलगायत सबै श्रीलंकालीको भएको र यो नयाँ सुरुवातको आधार रहेको बताए। श्रीलंकाका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र गरिबी उन्मुलन गर्ने चुनौती छ।

प्रकाशित: ७ आश्विन २०८१ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App