२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशकाे कारागारबाट सयौं कैदी भागे, प्रहरीसँगको झडपमा १२ कैदीको मृत्यु

फाइल।

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य सयौं कैदीहरू फरार भएका छन्।

राजधानी ढाकाको उत्तरमा रहेको जामपुर जेलमा आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि कैदी र प्रहरीबिच बिहीबार झडप भएको थियो। जसमा छ कैदीले ज्यान गुमाएका थिए।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको जेलका वार्डन अबु फताहले बताए। "कैदीहरुको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ ", उनले भने।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरु भाग्ने प्रयास गरेका थिए। साे जेलमा पनि झडप हुँदा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए। झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे।

हसिना सरकारविरुद्धकाे विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन्। पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए।

शेख हसिनाको १५ वर्षे सत्तापछि अचानक राजीनामा र विदेश पलायनपछि मुलुकमा कानुन र व्यवस्था पुनर्स्थापित गर्न अन्तरिम सरकार सङ्घर्षरत रहेको छ। यसै क्रममा प्रहरीले हडतालमा जाने घोषणा गरेको छ।

प्रकाशित: २६ श्रावण २०८१ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App