बाङ्गलादेशको मुख्य प्रहरी संघले आफ्ना सदस्यहरू हडतालमा जाने घोषणा गरेको छ।
बाङ्गलादेश प्रहरी सेवा संघ (बीपीएसए) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ "प्रत्येक प्रहरी सदस्यको सुरक्षा सुनिश्चित नभएसम्म हामी हडताल घोषणा गर्छौं।"
बीपीएसएले देशभरका हजारौं प्रहरी अधिकारीहरूको प्रतिनिधित्व गर्छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री शेख हसिनाको जबरजस्ती राजीनामापछि सोमबार ४५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण भएको थियो।
सरकारी अधिकारीहरूका अनुसार प्रदर्शनका क्रममा केही प्रहरी अधिकारीहरूको मृत्यु पनि भएको छ।
बीबीसी बाङ्गलाले मंगलबार बिहानैदेखि राजधानी ढाकाका धेरै सडकहरूमा ट्राफिक प्रहरीको उपस्थिति नदेखिएको जनाएको छ। यसैगरी विद्यार्थीहरू कतिपय क्षेत्रमा ट्राफिक व्यवस्थापन गरिरहेको उसले रिपोर्ट गरेको थियो।
प्रकाशित: २२ श्रावण २०८१ १६:१४ मंगलबार





