१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरान राष्ट्रपति निर्वाचन: दोस्रो चरणमा यी दुई नेता आमनेसामने

ईरानमा नयाँ राष्ट्रपतिका लागि अब दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

गत शुक्रवार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत हासिल गर्न नसके पछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो।

गत महिना हेलिकप्टर दुर्घटनामा ईरानका राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएपछि नयाँ राष्ट्रपतिका लागि शुक्रवार निर्वाचन भएको थियो। १४ औँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा ४ जना उम्मेदवार चुनावी मैदानमा थिए। तर, ती मध्ये कसैले पनि बहुमत हासिल नगरेका कारण अर्को चरणमा निर्वाचन हुने भएको हो।

ईरानको इन्टिरियर मिनिस्ट्री (गृह मन्त्रालय) का अनुसार, मतदानमा कुनै एकजना उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्ने हुन्छ। तर, कसैले पनि सो मतभार हासिल नगरेका कारण अर्को चरणको चुनाव ५ जुलाईका दिन हुनेछ।

अघिल्लो चरणको निर्वाचनमा सुधारवादी नेता मसूद पेजेश्कियान र कट्टरपन्थी नेता सईद जलीलीबीच प्रतिस्पर्धा हुनेछ।

समाचार संस्था रोयटर्सका अनुसार ईरानको गृह मन्त्रालयले कुल २. करोड ४५ लाख मतमध्ये पेजेश्कियानले १४ लाख १५ हजार ९९१ र जलीलीले ९४ लाख ७३ हजार २९८ मत हासिल गरेका थिए।

गृह मन्त्रालयका प्रवक्ता मोहसिन इस्लामीले चुनावमा कुनैपनि उम्मेदवारको स्पष्ट बहुमत नभएका कारण पहिलो चरणमा सबैभन्दा बढी मत हासिल गरेका दुईजना उम्मेदवारबीच आगामी चरणमा निर्वाचन गराउने बारेमा गार्डियन काउन्सिललाई जानकारी गराइएको बताए।

राष्ट्रपतिका लागि जलीली र पेजेश्कियानबाहेक हालका संसदका सभामुख मोहम्मदर बाकर गालीबाफ र सांसद मुस्तफा पुरमोहम्मदी पनि निर्वाचनमा उत्रेका थिए।

प्रकाशित: १६ असार २०८१ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App