१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरिया विश्वकै लागि त्रासः ओबामा

टोकियो – उत्तर कोरिया विश्ककै लागि ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन्।
उनले भने, उत्तर कोरियाले आणविक अस्त्रहरूको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर विश्वकै लागि एउटा ठूलो त्रास हो। जापान भ्रमणमा रहेका ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन्।

हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरू र धम्कीका बारेमा सुनेका छौं तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौं, ओबामाले भने। उनले भने,“उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन।”

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए। यसबाट उत्तर कोरिया विश्वबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनको भनाइ थियो।

आइतबार पूर्व राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो। त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: ११ चैत्र २०७४ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App