१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा सात टर्किस सैनिक मारिए

अंकरा  – उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा सात टर्किस सैनिक मारिएका तथा ११ जना घाइते भएका छन्।

उक्त क्षेत्रमा मंगलबार बिहान भएको झडपमा परी टर्किस सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ।

सोमबार मात्र सिरियाको अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकुहरुले नियन्त्रणमा लिएका बताइएको थियो। तर मंगलबार टर्किस् सैनिकमाथि नै आक्रमण भएको बताइएको छ।

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो। आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ।

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकु समूह वाइपिजीलाई गएको दुई महिनादेखि निशानामा पारेर खोजी कार्य जारी राखेको थियो। उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही कुर्दहरुले नै टर्किस् सैनिकमाथि आक्रमण गरिएको अनुमान गरिएको छ । यस हत्याको विस्तृत समाचार भने प्राप्त हुन सकेको छैन।

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या करिब ५० पुगेको बताइएको छ । सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०२:१८ बुधबार