सोल– उत्तर कोरियासँगको वार्ताका विषयमा संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानका सुरक्षा सल्लाहकारबीच बैठक सुरु भएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले सोमबार बताएको छ ।
कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निशस्त्रीकरण गर्ने विषयमा तीन देशका सुरक्षा सल्लाहकारबीच बैठक भएको बताइएको छ।
दुई दिनसम्म हुने बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हुने आसन्न बैठकको तयारीसमेत गर्ने जानकारी दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ । अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको उच्चस्तरीय बैठकको तयारीका लागि भएको विभिन्न तयारीमध्ये सुरक्षा सल्लाहकारहरुको भेट पछिल्लो भएको बताइएको छ।
दक्षिण कोरियाका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इवी–योङले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टर र जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार सोतारो याचीसँग भेट गरी उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच हुने शिखर सम्मेलनको विषयमा वार्ता गरेको राजधानी सोलमा रहेको राष्ट्रपति कार्यालय ब्लू हाउसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुबीचमा ट्रम्प र किमबीचको सम्भावित बैठकका बारेमा पनि छलफल भएको उक्त कार्यालयले जनाएको छ।
तीन राष्ट्रका सुरक्षा सल्लाहकारले कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निशस्त्रीकरण गर्ने विषयमा छलफल गरेको र विगतमा भएका गल्ती नदोहोर्याउन अत्यन्तै महत्वपूर्ण भएको विषयमा सहमति गरको ब्लू हाउसले जनाएको छ । उनीहरुले यस विषयमा नजिकबाट सहकार्य गर्नसमेत सहमति जनाएको बताइएको छ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि एउटा विज्ञप्ति निकाल्दै विगतको गल्ती नदोहोर्याउने विषयमा सहमति भएको जनाउँदै सुरक्षा सल्लाहकारबीचको बैठक आसन्न शिखर सम्मेलन र कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निशस्त्रीकरण गर्ने विषयमा छलफल भएको जनाएको छ । उता, उत्तर कोरियाली उच्च कूटनीतिज्ञले भने आइतबार अमेरिका र दक्षिण कोरियाका पूर्व अधिकारीसँग फिन्ल्यान्डमा भेटवार्ता गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
कोरियाली प्रायद्वीपको सुरक्षाको विषयमा स्विडेनका विदेशमन्त्री र उत्तर कोरियाली विदेशमन्त्री बीच भएको भेटवार्ताको तीन दिनपछि अमेरिका र दक्षिण कोरियाली पूर्व अधिकारीसँग प्योङयाङको बैठक भएको बताइएको छ । स्विडेन र उत्तर कोरियाली विदेशमन्त्रीबीच भएको बैठकमा स्विडेनले उत्तर कोरियामा पक्राउ परेका अमेरिकी नागरिकका बारेमा चासो व्यक्त गरेको अमेरिकी सञ्चारमाध्यमले सिएनएनले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिबन्धलाई वेवास्ता गर्दै गत वर्ष उत्तर कोरियाले आणविक एवं क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको थियो । तर दक्षिण कोरियामा यसै वर्षको सुरुमा भएको शीतकालीन ओलम्पिक्समा सहभागी भएपछि दक्षिण कोरिया र अमेरिकासँको उसको सम्बन्ध केही सहज भएको छ।
प्योङयाङले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई शिखर सम्मेलनका लागि आमन्त्रण गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गर्न इच्छुकता देखाएको छ । गत वर्ष एक अर्काप्रति तिखो शब्द प्रयोग गरेका अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किम जोङ–उन दुवैजना वार्ताका लागि सकारात्मक रहेकाले त्यसैको तयारीका लागि विभिन्न चरणका वार्ता भइरहेको बताइएको छ ।
प्रकाशित: ६ चैत्र २०७४ ०३:०५ मंगलबार





